चैत २८, वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले उत्तरी सीमा नाकालाई विशेष प्राथमिकतामा राखेको छ । प्रदेशको सीमाना भारतसँग नजोडिएको र तत्काल उत्तरी नाकाहरू सञ्चालनमा नआए प्रदेशको समृद्धिमा असर पर्ने भन्दै प्रदेश सरकारले छिमेकी देश चीनसँग जोडिएका उत्तरी नाकाहरू सञ्चालनमा ल्याउने योजनालाई प्राथमिकतामा राखेको हो ।
चीनसँगको व्यापार विस्तारका लागि हुम्ला, मुगु र डोल्पाका तीन ओटै नाका खोल्ने गरी पहल भइरहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए । ‘हुम्लाको हिल्सा नाका तत्कालै खोल्न सकिने सम्भावना छ, हुम्ला, मुगु र डोल्पाका तीन ओटै नाका खोल्ने गरी पहल थालेका छौं,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली करिडोरलाई दुई लेनको बनाएर मुगु र डोल्पाका उत्तरी नाका पनि खोलिने योजना छ ।’
कर्णालीमा ५२ प्रतिशत गरिबी रहेको र उत्तरी नाकाहरु तत्काल सञ्चालनमा ल्याएर आर्थिक गतिविधि नबढाए प्रदेशको आर्थिक अवस्था झन कमजोर हुने निश्कर्ष प्रदेश सरकारको छ । चीनसँग मात्रै सीमा जोडिएको कर्णाली प्रदेशमा रहेका तीन ओटा नाका खोल्ने सहमति दुई वर्षअघि नै भए पनि अझै सञ्चालनमा आउन भने सकेको छैन ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेशलाई आर्थिक रूपमा सबल बनाउनका लागि उत्तरी नाका खोलेर चिनसँग व्यापार बढाउनु अपरिहार्य भएको बताए । ‘सरकारले तिब्बतसँगको हिल्सा नाका सञ्चालन गर्नका लागि सङ्घीय सरकारमार्फत पहल शुरु गरिएको छ,’ उनले भने ।
मुगुको गमगढी—नाक्चेनांग्ला सडक (८५ किलोमिटर), हुम्लाको सिमिकोट–लिमी–लाप्चा सडक (९० किलोमिटर), हुम्लाकै सिमिकोट–हिल्सा सडक (७८ किलोमिटर) र डोल्पाको दुनै–धो–मुरिम्ला सडक (१६० किलोमिटर) निर्माण गरी तिब्बतसँग नजोडेसम्म कर्णाली प्रदेशको समृद्धि सम्भव नहुने प्रदेशसभाका सांसद गुलावजंग शाहको भनाइ छ । ‘उक्त नाका खुलेपछि यो प्रदेशका १६ लाख २३ हजारभन्दा बढी मानिस लाभान्वित हुने मात्र होइन, प्रदेश नम्बर पाँचका बाँके र बर्दियासहित उत्तरी भारतले समेत भविष्यमा लाभ लिन सक्नेछ’ शाहले भने । उत्तरी भारत र तिब्बत बीचमा भविष्यमा हुन सक्ने व्यापारले कर्णाली प्रदेशको अर्थतन्त्र मजबुत हुने र यसले समृद्धिमा टेवा पुग्ने उनको विश्वास छ ।
स्थानीय सरकारको पनि जोड प्रदेश अन्तर्गत चीनसँग जोडिएका हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना तथा डोल्पाका मरिम्ला र क्याटोछुंग्रा नाकाहरू एकमुष्ठ सञ्चालनमा ल्याउनुपर्नेमा स्थानीय सरकारका जनप्रतिनिधिहरूले पनि जोड दिएका छन् । कर्णाली प्रदेशमा एउटा पनि भन्सार नहुँदा राजश्व सङ्कलन र आन्तरिक आम्दानीको स्रोत नै नभएकाले तत्काल चीनसँग पारवहन सम्झौता गरी प्रदेशलाई समृद्ध बनाउनतर्फ लाग्नुपर्ने उनीहरू बताउँछन् ।
‘समृद्ध कर्णाली बनाउनु छ, यसका लागि छिमेकी मुलुकसँग व्यापार सम्झौता गरौं’ दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकाका मेयर सूर्यबहादुर शाही भन्छन् ‘जबसम्म हाम्रो प्रदेश चीनसँग जोडिदैंन, तबसम्म कर्णालीको अर्थतन्त्र सबल हुन सक्दैन । प्रदेश सरकारले तत्काल उत्तरका नाका खोल्नेतर्फ ध्यान देओस्, पारबहन तथा व्यापार सम्बन्ध सुनिश्चित गरियोस् ।’