ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुलबुलेमा स्विमिङ पुलदेखि रकगार्डेनसम्म निर्माणको तयारी

Apr 16, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । सुर्खेतको प्रमुख पर्यटकीय स्थल बुलबुलेको पहिलो पटक गुरु योजना निर्माण गरिएकोे छ । सुर्खेत उपत्यका नगर विकास समितिले पहिलो पटक बुलबुलेको गुरुयोजना तयार गरेको हो । गुरुयोजनाअनुसार बुलबुलेमा स्विमिङ पुलदेखि रकगार्डेन (ब्लड प्रेसरका बिरामीका लागि लाभदायी बाटो) सम्म निर्माण गरिने भएको छ । ठूलो ताल, नजिकै स्विमिङ पुल, नुहाउनका लागि छुट्टै धारा, वनभोज स्थलसहित मनोरम उद्यान र तालमा नियमित डुङ्गा सञ्चालन हुनेछ । ‘हेर्न लायक बुलबुले’ बनाउने लक्ष्यसहित उक्त गुरुयोजना सार्वजनिक गरिएको छ । गुरुयोजनामा बुलबुलेको स्तरोन्नति गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने परिकल्पनासमेत अगाडि सारिएको नगर समितिले बताएको छ । आर्किटेक डिजाइन सेण्टरले तयार पारेको गुरुयोजनाअनुसार बुलबुलेलाई आकर्षक बनाउन करीब ३१ करोड ७३ लाख ३२ हजार रुपैयाँ लागत लाग्ने समितिको ठहर छ । बुलबुलेको प्राकृतिक स्वरूपमा असर नपर्ने गरी उद्यानलाई व्यवस्थित बनाइने डिजाइन सेण्टरका सुमन महर्जनले बताए । बुलबुलेको व्यवस्थापनका लागि स्थानीय, प्रदेश र सङ्घ सरकारले प्राथमिकता दिनुपर्ने उनको धारणा छ । आर्थिक अभावबीच सार्वजनिक गुरुयोजना कार्यान्वयनका लागि चुनौतीपूर्ण बनेको उनले बताए । कर्णाली प्रदेशका पर्यटकीय सम्पदाहरूको फोटाहरूसमेत पार्कभित्र अवलोकनको व्यवस्था मिलाइने भएको छ । ताललाई अहिलेको भन्दा झण्डै एकगुणा विस्तार गरेर ठूलो आकारको बनाइने गुरुयोजनामा उल्लेख छ । ३१ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको जिल्लाको सबैभन्दा महत्त्वपूर्ण पर्यटकीय स्थलका रूपमा रहेको बुलबुले ताललाई फराकिलो बनाउने योजना समितिले बनाएको हो । डुङ्गा सञ्चालनमा ल्याउने गरी ताललाई फराकिलो बनाइने भएको छ । हाल तालको क्षेत्रफल १ दशमलव ७५ बिगाहा क्षेत्रमा सीमित छ । सार्वजनिक गुरुयोजनाअनुसार बुलबुले उद्यानभित्र १० ओटा ‘पिकनिक स्पट’ बनाउने योजना रहेको समितिले जानकारी दिएको छ । उद्यानभित्र वनभोज स्थल, मन्दिर क्षेत्र र प्रवेश क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । यस्तै, उद्यानभित्र प्रवेशसँगै ठाउँ–ठाउँमा भेला भएर बस्न मिल्ने पार्क, दोस्रो गेटबाहिर पार्किङ स्थल, विभिन्न स्थलमा वृक्षरोपण गरी हरियाली बनाइने भएको छ । बुलबुले तालभित्र रहेका १० ओटा धारालाई समेत व्यवस्थित गरिने र सबै धार्मिक क्रियाकलापलाई व्यवस्थित गर्न धार्मिक क्षेत्र नै तोकिने समितिले जानकारी दिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)