ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कक्षा ८ मा मौका परीक्षाको व्यवस्था

Apr 19, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
रुकुम । रुकुमको मुसीकोट नगरपालिकाका कक्षा ८ का विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका छन् । शैक्षिक सत्र २०७४ को वार्षिक परीक्षामा सहभागी भई दुई विषयमा ‘सी’ ग्रेडभन्दा कम नतीजा ल्याउने विद्यार्थीले स्तरवृद्धिका लागि मौका परीक्षा दिन पाउने भएका हुन् । कक्षा ८ को अन्तिम नतीजामा कम ग्रेड ल्याएका तथा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीका लागि मौका परीक्षा गराउने तयारी मुसीकोट नगर शिक्षा शाखाले गरिरहेको छ । जिल्लामा पहिलोपटक कक्षा ८ मा पनि मौका परीक्षाको व्यवस्था गरिएको हो । रुकुम पश्चिमका ६ स्थानीय तहमध्ये मुसीकोट नगरपालिकाले यस्तो व्यवस्था गरेको हो । आगामी वैशाख १५ गतेदेखि कक्षा ८ को मौका परीक्षा गराइने नगर शिक्षा अधिकृत विनाराम खड्काले जानकारी दिए । कुल प्राप्ताङ्क वा कुनै पनि विषयमा ‘सी’भन्दा कम ग्रेड ल्याएका विद्यार्थीले परीक्षामार्फत ग्रेड वृद्धिको मौका पाउनेछन् । अनुपातमा ‘सी’ ग्रेडभन्दा तलकालाई मौका परीक्षामा सहभागी गराउने भनिएकाले कति जना मौका परीक्षामा सहभागी हुन्छन् भन्ने खुलिसकेको छैन । कक्षा ८ को वार्षिक परीक्षाका लागि नगरपालिकाभरबाट ९ सय ५१ जनाले परीक्षा फारम भरेकामा ९ सय २६ जना मात्रै सहभागी भएका थिए , जसमा ३१ जनाले ‘ए’ प्लस, ९६ जनाले ‘ए’, २ सय २ जनाले ‘बी प्लस’, २ सय ४१ जनाले ‘बी’, २ सय ४५ जनाले ‘सी प्लस’, ९७ जनाले ‘सी’ र १४ जना विद्यार्थीले ‘डी प्लस’ ग्रेड ल्याएका छन् । मुसीकोट नगरपालिकाले यस वर्षको कक्षा ८ को नतीजा वेबसाइटमार्फत सार्वजनिक गरेको थियो  । नगर शिक्षा शाखाले नै यस वर्ष कक्षा ८ को वार्षिक परीक्षाको सम्पूर्ण व्यवस्थापन गरेको हो । अघिल्ला वर्षमा जिल्ला शिक्षा कार्यालयले प्रश्न मात्रै बनाउँथ्यो । तर, यस वर्ष स्थानीय तहले आफ्नै तरीकाले प्रश्न तथा उत्तरपुस्तिका निर्माण, वितरण, जाँच र नतीजा प्रकाशनसमेत गरेको छ । मुसीकोट नगरपालिकाले कक्षा ८ को पढाइ हुने नगरभित्रका २७ ओटै विद्यालयको नतीजा अङ्कन र अक्षराङ्कन दुवै पद्धतिबाट प्रकाशन शुरू गरेको छ । कक्षा ८ मा कमजोर नतीजा ल्याउने विद्यालयको पहिचान गरी सुधारको कार्ययोजना निर्माण तथा कक्षा ८ को अन्तिम नतीजामा ‘सी’ ग्रेड ल्याएकालाई मात्रै कक्षा ९ मा भर्नाको तयारी गरिएको छ । पढाइको गुणस्तर बढाउन राष्ट्रिय मापदण्डभन्दा बढाएर मात्र कक्षा ९ मा भर्ना गरिने नगर शिक्षा अधिकृत विनाराम खड्काले बताए । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले गत माघ १७ गते कक्षा ८ को परीक्षामा ‘डी प्लस’ ल्याएका विद्यार्थीलाई कक्षा ९ मा भर्ना गर्ने निर्णय गरेको थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)