ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अनलाइनबाटै शेयर खरीदविक्रीको आदेश

Apr 22, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । यो वर्षको शुरुआतदेखि नै अनलाइनबाटै शेयर खरीदविक्री आदेश दिन सकिने सेवा उपलब्ध गराउन नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनअनुसार वैशाख २ देखि यो सेवा शुरू भएको छ । पहिलो दिन चार ब्रोकर कम्पनीले यो सेवाको थालनी गरेका हुन् । यद्यपि, हालसम्म यो सेवा प्रदान गर्नेको सङ्ख्या ५ मात्र पुगेको छ । यस प्रणालीको सफ्टवेयर निर्माता कम्पनी सोर्स कोड प्राइभेट लिमिटेडका अनुसार हालसम्म १९ कम्पनीमा यो सफ्टवेयर अपटेड भइसकेको छ । चाँडै अन्य कम्पनीले पनि यसलाई लागू गर्ने बताएका छन् । यस सेवाको शुरुआत ब्रोकर नं ५० क्रिष्टल कञ्चनजङ्घा सेक्युरिटिज प्राइभेट लिमिटेडबाट भएको हो । सोही दिन ब्रोकर नं ५८ नासा सेक्युरिटिज कम्पनी लिमिटेड, ब्रोकर नं २१ मिडास स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेड र ब्रोकर नं ३९ सुमेरु सेक्युरिटिज प्राइभेट लिमिटेडले पनि यो प्रणालीको थालनी गरेका थिए । यस वर्षको शुरुआतदेखि नै इण्टरनेटमार्फत शेयर खरीदविक्रीको आदेश दिन सकिने व्यवस्था लागू गर्न नेपाल धितोपत्र बोर्डले सम्पूर्ण ब्रोकर कम्पनीलाई चैत ३० गते नै निर्देशन दिएको थियो । त्यसअघि बोर्डले २०७३ फागुन २६ मा पहिलोपटक ब्रोकर कम्पनीहरूलाई यो सेवा प्रदान गर्न परिपत्र गरेको थियो । बोर्डका सहप्रवक्ता निरञ्जय घिमिरेले यो प्रणाली लागू भएसँगै लगानीकर्ताले शेयर खरीदविक्रीका लागि ब्रोकर कार्यालयसम्म धाउनुपर्ने समस्या नरहेको बताएका छन् । यो प्रणालीमार्फत अनलाइनबाटै शेयर खरीदविक्रीको आदेश दिन र लगानीकर्ताले खरीदविक्रीको विवरणसमेत हेर्न सक्ने जानकारी उनले दिए । शेयर कारोबार प्रक्रिया थप सहज, पारदर्शी एवम् लगानीकर्तामैत्री बनाउने प्रयासस्वरूप यो प्रणाली लागू गरिएको हो । यसबाट ब्रोकर कार्यालयमा रहने कारोबारसम्बन्धी अभिलेख झनै व्यवस्थित र सुदृढ बन्ने उनको भनाइ छ । वैशाख २ गतेबाट अनलाइन सेवा प्रदान गरेको ब्रोकर नं २१ मिडास स्टक ब्रोकिङ कम्पनी प्राइभेट लिमिटेका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रमान श्रेष्ठले यस प्रणालीबाट ब्रोकर कम्पनी र लगानीकर्ता दुवैलाई सहज भएको बताए । ‘अनलाइन प्रणाली शुरू भएसँगै कम्पनीको कारोबार बढेको छ,’ उनले भने । लगानीकर्ताले पनि यो प्रणाली प्रभावकारी भएको बताएका छन् । अनलाइन प्रक्रियाबाट शेयर खरीदविक्री आदेश दिन पाउने सुविधाले बजारमा सकारात्मक प्रभाव पर्न थालेको लगानीकर्ता दिवाकर खड्काको अनुभव छ । आफूले यो सेवा हाल प्रयोग गरिनसकेको भन्दै उनले साना लगानीकर्तालाई कम प्राथमिकता दिने ब्रोकर कम्पनीको व्यवहारलाई यो प्रणालीले चुनौती दिएको टिप्पणी गरे । अब दोस्रो बजारमा पनि साना लगानीकर्ताको प्रवेश बढ्ने उनको अनुमान छ । अर्का लगानीकर्ता राजु पौडेलले यो प्रणाली स्वागतयोग्य रहेको बताए । नेप्सेले चाँडै कार्यान्वयनमा ल्याउन लागेको पूर्ण अनलाइन प्रणालीको प्रयोग गर्न यसले थप सहज बनाउने उनको विश्वास छ । कसरी प्रयोग गर्ने ? यस प्रणालीको प्रयोगका लागि लगानीकर्तालाई सम्बन्धित ब्रोकर कम्पनीले युजर नेम र पासवर्ड उपलब्ध गराउँछन् । सोहीको प्रयोगबाट लगानीकर्ताले शेयर खरीदविक्री आदेश दिन सक्छन् । हाल सम्बन्धित ब्रोकर कम्पनीको वेबसाइटमा लगइन गरेर युजर नेम र पासवर्डको प्रयोग भइरहेकोमा सफ्टवेयर कम्पनी सोर्स कोड प्राइभेट लिमिटेडले यसका लागि एप्स बनाएर ब्रोकर कम्पनीहरूलाई उपलब्ध गराउने तयारी गरेको छ । प्रत्येक कम्पनीमा फरक फरक एप्स हुने सफ्टवेयर निर्माता कम्पनीको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)