वैशाख ९, वीरेन्दनगर । कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमवार प्रदेश सभाको बैठकमा पेश हुने भएको छ ।
शनिवार बसेको बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश सभामा पेश गर्न दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । सरकारले सोमवार बस्ने प्रदेश सभाको बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको प्रवक्ता केसीले बताइन् ।
मन्त्रिपरिषद् बैठकले अन्य तीन ओटा विधेयक तर्जुमाका लागि सम्बन्धित मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय समेत गरेको प्रवक्ता केसीले बताइन् । बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पेश गरेको मुख्यमन्त्री सहायता कोष विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको हो ।
बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता केसीले भौतिक पुर्वाधार विकास मन्त्रालयद्वारा पेश गरिएको जलश्रोत उपयोग विधेयक २०७५ को मस्यौदा र प्रदेश सडक बोर्ड विधेयक २०७५ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको जानकारी गराइन् ।