प्रदेश नं. ७ को बजेट सार्वजनिक : ‘समृद्धिको जग बसाल्न अल्पकालीन बजेट’
Apr 23, 2018
 
प्रदेश समाचार
धनगढी । प्रदेश नम्बर ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रदेश संसद् बैठकमा चालू आर्थिक वर्षका लागि नीति कार्यक्रमसहितको बजेट प्रस्तुत गरेका छन् । प्रदेश संसद्को १६औं बैठकबाट मन्त्री बोहराले रू. १ अर्ब २ करोड ५ लाखको बजेट आइतवार सार्वजनिक गरेका हुन् ।
संसद्मा प्रस्तुत बजेट तीनखम्बे अर्थनीतिको आधारमा प्रस्तुत गरिएको छ । संसद् बैठकमा प्रस्तुत बजेटपछि योजना मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले समृद्धि यात्राको जग बसाल्न अल्पकालीन बजेट ल्याएको प्रतिक्रिया दिए । सङ्घीय सरकारबाट सङ्क्रमणकालीन प्रबन्धस्वरूप प्राप्त वित्तीय समानीकरण अनुदानअन्तर्गत उक्त बजेट पारित गरिएको हो ।
समृद्ध प्रदेशको परिकल्पनासहित आत्मनिर्भर, स्वाधीन र समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको साझा लक्ष्यका साथ चालू आवको बाँकी अवधिका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । विनियोजित कुल बजेटमध्ये चालूतर्फ ३० करोड ७ लाख ७७ हजार (२९.४७) प्रतिशत तथा पूँजीगततर्फ १५ करोड ५७ लाख (१५.२६) प्रतिशत तथा अर्थ विविधतर्फ ५६ करोड ४० लाख २३ हजार (५५.२) प्रतिशत छ । सङ्घीयता कार्यान्वयन, प्रदेशस्तरीय निकायहरूको संरचना व्यवस्थापन, उच्चदरको आर्थिक वृद्धि हासिल गर्न प्रस्थानविन्दु तय गर्ने र विकास प्रक्रियामा अपनत्व बोध गराउने बजेटको मुख्य उद्देश्य छन् ।
अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन आवधिक योजना निर्माण, गरीबी न्यूनीकरण, कृषिमा आत्मनिर्भर, पूर्वाधारको प्रारूपको तयारी, जल, जङ्गल, जमीन, जटिबुटी, उद्योग र पर्यटनको वैज्ञानिक विकास गर्न सम्भावित क्षेत्रहरूको पहिचान बजेटका मुख्य प्राथमिकताभित्र समेटिएको छ । सबै प्रादेशिक निकायहरूको संरचना व्यवस्थापन र सञ्चालनको लागि आधार तयार गर्ने हिसाबले बजेट विनियोजन गरिएको मन्त्री बोहराले बताए ।
प्रस्तुत बजेटमा कृषि अनुदान कोषका लागि ५ करोड, खाद्यान्न राहत कोषका लागि २ करोड ५० लाख तथा आकस्मिक कोषका लागि ५० लाख रुपैयाँ प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा प्रादेशिक विकास समस्या समाधान समिति गठन, कृषि पेशालाई प्रोत्साहन गर्न कृषि अनुदान कोषको व्यवस्था, गरीबीको रेखामुनि रहेका नागरिकलाई खाद्य सामग्री सहुलियत दरमा उपलब्ध गराउन २ करोड ५० लाखको खाद्यान्न राहत कोष स्थापना गरिनेछ ।