ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकको चाप व्यवस्थापन

Apr 23, 2018  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रमा सुवेदी
  • आरोहीले प्रयोग गरेर फ्याँकेका पेय पदार्थको बोतल, तयारी खानाका बट्टा, अक्सिजनको सिलिण्डर, थोत्रा टेण्टलगायत सामग्री थुप्रिएर सगरमाथा ‘फोहोरमाथा’ बन्दै गएको छ ।
  • सगरमाथामा थेग्नै नसक्ने गरी आरोहीहरूलाई अनुमति दिँदा विदेशीमाझ यसको महत्त्वव कम हुन सक्छ ।
  • केही हप्ताअघि फिलिपिन्समा केही महीनाका लागि लोकप्रिय पर्यटकीय गन्तव्य बाराकेय द्वीप बन्द ।
  • अत्यधिक पर्यटक आगमन रोक्न रुवाण्डामा गोरिल्ला पर्मिट शुल्क (गोरिल्ला नामको वन्यजन्तु हेर्न तिर्नुपर्ने शुल्क) दोब्बर बनाउँदै दैनिक १ हजार ५ सय डलर पुर्‍याइयो ।
सगरमाथामा आरोहीको अत्यधिक भीड, फोहोरको पहाडै थुप्रियो । सौराहा, बन्दीपुरमा थेग्न नसक्ने पर्यटक । रारा तालमा एकै दिनमा १०औं हजार पर्यटक । होटलका कारण फेवातालको पानी दूषित । यस्ता समाचारहरू हामीले केही वर्षदेखि पढ्दै र सुन्दै आएका छौं । पछिल्लो समय पर्यटन हाम्रो अर्थतन्त्रको अभिन्न अङ्ग बनेको छ । सन् २०१७ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा यसले ७ दशमलव ६ प्रतिशत योगदान गरेको थियो । तर, पर्यटकको सङ्ख्या बढेअनुरूप पर्यटकीय स्थलमा पूर्वाधार विकास र सरसफाइलगायत पाटोमा धेरै चासो नदिँदा वातावरणीय प्रदूषणलगायत समस्या निम्तिएका छन् । गतवर्ष नेपाल पर्यटन बोर्डले सगरमाथा आरोहण गर्न कुल २ सय ९२ समूहका २ हजार २ सय २६ जनालाई अनुमति दिएको थियो । यो अहिलेसम्मकै उच्च हो । सन् २०१६ मा पनि बोर्डले २ सय ७८ समूहका कुल १ हजार ९ सय ३४ जनालाई पर्वतारोहणको अनुमति दिएको थियो । यसबाट सरकारले रोयल्टीका रूपमा करीब ४ करोड रुपया प्राप्त गरेको थियो । पर्वतारोहणबाट राम्रो कमाइ भए पनि आरोहीहरूले प्रयोग गरेर फ्याँकेका पेय पदार्थको बोतल, तयारी खानाका बट्टा, अक्सिजनको सिलिण्डर, थोत्रा टेण्टलगायत सामग्रीको व्यवस्थापनमा खासै ध्यान दिइएको छैन । यस्ता वस्तु त्यहीँ थुप्रिएर सगरमाथा ‘फोहोरमाथा’ बन्दै गएको छ । पर्वतारोहणका क्रममा मरेका आरोहीहरूको शव पनि वर्षौंदेखि हिउँमा पुरिएर रहेका छन् । यस्ता शव झिक्ने काम भएको छैन । सगरमाथामा जो पायो उसैलाई र थेग्नै नसक्ने गरी आरोहणको अनुमति दिँदा विदेशीमाझ यसको महŒव हराउने डर पनि छ । बेलाबेलामा सगरमाथालगायत अन्य हिमाल सरसफाइका क्रममा टनका टन फोहोर सङ्कलन भए पनि यस्ता गतिविधि पर्याप्त मात्रामा भएका छैनन् । फोहोर नियन्त्रण गर्न ५ वर्षअघि नेपाल सरकारले सगरमाथा आरोहणका क्रममा गएका पर्वतारोही र भरियाहरू प्रत्येकले अक्सिजन सिलिण्डरबाहेक कम्तीमा ८ केजी फोहोर बोकेर ल्याउनुपर्ने नत्र तिनीहरूको धरौटी जफत हुने कानून पनि ल्याएको थियो । तर, पनि त्यहाँ राम्ररी फोहोर व्यवस्थापन हुन सकेको छैन । भर्खरै नेपालीहरूको नयाँ वर्ष गयो । यस क्रममा सौराहा, पोखराजस्ता पुराना पर्यटकीय गन्तव्य मात्रै होइन भर्खरै व्यवसायीकरण भएको रारा तालमा समेत थेग्नै नसक्ने पर्यटकको आगमन भयो । रारा तालमा त एकै दिनमा १७ हजार पर्यटक पुगेको खबर सुनियो । नेपालमा पूर्वाधारको विकास राम्ररी भइसकेको छैन । पर्याप्त मात्रामा पूर्वाधार विस्तार नहुँदा अत्यधिक पर्यटक आमगनले प्रमुख पर्यटकीय स्थलमा दबाब सृजना गरेको छ । यसरी धान्नै नसक्ने गरी पर्यटक आएर समस्यामा परेका ठाउँ नेपालमा मात्रै छैनन् । थाइल्याण्ड र फिलिपिन्सजस्ता दक्षिणपूर्वी एशियाली देश र इटली, स्कटल्याण्ड, क्रोएशियालगायत यूरोपेली देशले समेत आफ्नो प्रमुख प्रर्यटकीय स्थलमा कैयौं वर्षदेखि यस्तै समस्या भोग्दै आएका छन् । केही हप्ताअघि मात्रै फिलिपिन्सले केही समयका लागि त्यहाँको लोकप्रिय पर्यटकीय गन्तव्य बाराकेय द्वीप बन्दै ग¥यो । सन् २०१७ मा बार्सिलोनाले जथाभावी भाडामा दिने प्रवृत्तिका कारण घर भाडा बढेको भन्दै एयरबीएनबी नेटवर्कबाट अनधिकृत रूपमा भाडामा लगाउने कार्य रोक्न कानूनी कारबाही नै चलायो । अत्यधिक पर्यटक आगमन रोक्न केही देशले आगन्तुकहरूले तिर्नुपर्ने शुल्क बढाएका छन् । सन् २०१७ को मेमा रुवाण्डाले गोरिल्ला पर्मिट शुल्क (गोरिल्ला नामको वन्यजन्तु हेर्न तिर्नुपर्ने शुल्क) दोब्बर बनाउँदै दैनिक १ हजार ५ सय डलर पु¥याएको थियो । अर्थात् आफ्नो बढ्दो लोकप्रियताका कारण उत्पन्न समस्या समाधान गर्न विश्वका प्रमुख पर्यटकीय गन्तव्यमा विभिन्न उपायहरू अपनाइएका छन् ।

थाइल्याण्डको माया बे गत मार्चमा थाइ अधिकारीहरूले देशको सबैभन्दा लोकप्रिय पर्यटकीय स्थल माया बे जुनदेखि सेप्टेम्बरसम्म बन्द गर्ने घोषणा गरे । यस स्थानमा दैनिक ४ हजारदेखि ५ हजारसम्म आगन्तुकहरू आउँछन् । हलिउड स्टार लियोनार्दो दि क्याप्रियोको मुख्य भूमिका रहेको सन् २००० को फिल्म ‘द बिच’ प्रदर्शनमा आएयता यस स्थानको लोकप्रियता चुलिएको थियो । तर, यो लोकप्रियता माया बेका लागि निकै घातक बन्यो । डुङ्गाका ‘एङ्कर’ले गर्दा यहाँको ७७ प्रतिशत कोरल पर्यावरणमा गम्भीर जोखीम उत्पन्न भएको छ । योजनाअनुसार यो बे पुनः खुला भएपछि पर्यटक आगमन दैनिक २ हजारमा सीमित गर्ने र डुङ्गाको प्रयोगमा पूर्णतः प्रतिबन्ध लगाइनेछ । आगामी वर्ष पनि ४ महीना बे बन्द गर्ने योजना बनाइएको छ । थाइल्याण्डले यसअघि सन् २०११ यता दर्जनौं पर्यटकीय गन्तव्य बन्द गरिसकेको छ । थाइ अर्थतन्त्रमा पर्यटन क्षेत्रको २२ प्रतिशतभन्दा बढी योगदान छ ।

इटलीको चिङ्क्वे तेरे बलिउड र हलिउड फिल्म निर्माताहरूको रोजाइमा पर्ने ठाउँ हो इटलीको चिङ्क्वे तेरे । पाँचओटा गाउँ मोन्तेरोस्सो अल मारे, भेर्नाज्जा, कोनिग्लया, मनारोला र रियोमाज्जोरे तथा यसवरिपरिको पहाडी क्षेत्रलाई समेट्ने चिङ्क्वे तेरे क्षेत्र चिङ्क्वे तेरे नेशनल पार्कको भाग हो । सयौं वर्ष पुरानो यो स्थान युनेस्कोको विश्व सम्पदा सूचीमा छ । यहाँ वर्षेनि २० लाखभन्दा बढी पर्यटक आउँछन् । तर, पछिल्ला केही वर्षयता यो अत्यधिक प्रयोग र भूस्खलनको चपेटामा आएको छ । अत्यधिक भीड हुन थालेपछि यसलाई रोक्न पार्क अधिकारीहरूले एउटा एपको प्रयोग गरे । पर्यटकहरूले आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्ने यो एपले रियल टाइममा चिङ्क्वे तेरेको पदयात्रा मार्गमा कतिको भीड छ भन्ने देखाउँछ । बाटोमा अत्यधिक भीड भएपछि यस एपमा रातो चिह्न देखा पर्छ । यसले आगन्तुकहरूलाई भीडमा मिसिने कि नमिसिने निर्णय गर्न सघाउँछ । भविष्यमा पार्क अधिकारीहरूले भर्चुअल वेटिङ लिष्टको परीक्षण गरेमा अचम्म मान्नुपर्दैन ।

पेरुको माचु पिच्चु पेरुको प्राचीन सामरिक गढ हो माचु पिच्चु । पछिल्लो समय अत्यधिक आगन्तुकको आगमन र अनौपचारिक रूपमा सञ्चालित ट्राभल एण्ड टूर्स व्यवसायका कारण माचु पिच्चु रुटमा क्षति हुन थाल्यो, फोहोरको थुप्रो थुप्रिन थाल्यो । यस्तोमा पेरु सरकारले सिजनका बेला त्यहाँ पर्यटकको आमगनमा सीमा तोक्यो । हरेक वर्ष फेबु्रअरीमा यो गढ सरसफाइ र मर्मतसम्भारका लागि बन्द गर्न थाल्यो । टूूरिष्टहरू बूकिङ गरेर मात्रै त्यहाँ जान पाउँछन् । टूर कम्पनीहरू पर्मिट जोगाउन सरकारी नियमन मान्न बाध्य छन् । पछिल्लो समय यस रुटमा बाटो खुलेपछि मानिसको ओइरो लाग्न थालेको थियो । भीड कम गर्न गतवर्ष अधिकारीहरूले बिहान वा मध्याह्नका लागि छुट्टाछुट्टै टिकट बेच्ने व्यवस्था गरे । तर, यो उपायले अब काम नगर्ने हो कि भन्ने सङ्केत देखिन थालेको छ । माचु पिच्चु युनेस्कोको विश्व सम्पदा सूचीमा समेत परेको छ । युनेस्कोले यस ठाउँमा एक दिनमा अधिकतम २ हजार ५ सयभन्दा बढी पर्यटक नभित्र्याउन सुझाव दिएको छ । तर, पछिल्लो समय योभन्दा बढी पर्यटकको आगमन हुन थालेको छ ।

दक्षिण कोरियाको जेजु द्वीप दक्षिण कोरियाको राजधानी सोल र जेजु द्वीप संसारकै सबैभन्दा व्यस्त उडान रुट हो । सन् २०१७ मा यी दुई स्थानबीच ६५ हजार उडान भए । यस द्वीपमा हरेक वर्ष १ करोड ५० लाखभन्दा बढी पर्यटक आउँछन् । २ हजार वर्गमिटरभन्दा थोरै क्षेत्रफल भएको ठाउँका लागि यो आगमन सङ्ख्या निकै धेरै हो । विदेशी पर्यटकमाझ लोकप्रिय गन्तव्य बनेपछि जेजु द्वीपको वातावरणमा गम्भीर क्षति पुगेको छ । यहाँ आउनेमा सबैभन्दा बढी चिनियाँ नै हुन्छन् । गतवर्ष चीनले घरेलु ट्राभल एजेन्सीहरूलाई टूर प्याकेजमा दक्षिण कोरियालाई समावेश गर्न प्रतिबन्ध लगाएपछि यहाँ पर्यटक आगमन घटेको थियो । अहिले प्रतिबन्ध हटिसकेकाले बिस्तारै चिनियाँ पर्यटकको आगमन बढ्ने देखिएको छ । यस्तोमा भीड कम गर्न दक्षिण कोरिया सरकारले भविष्यमा उपाय अपनाउने विश्लेषण गरिएको छ ।

कोलम्बियाको कानो क्रिष्टालेस कोलम्बियाको कानो क्रिष्टालेस पाँच रङको खोला हो । पानीमा पाइने वनस्पति र कृत्रिम लाइटका कारण खोला कतै रातो, कतै गुलाबी, कतै कागती रङ्गको हरियो त कतै पहेँलो देखिन्छ । यहाँ पनि पर्यटकको आगमन निकै बढ्न थालेको छ । प्रदूषण बढ्ने र जल वनस्पतिमा गम्भीर खतरा उत्पन्न हुने चिन्ता बढेपछि गत डिसेम्बरमा यहाँ प्लाष्टिकका बोतल, कीराफट्याङ्ग्रा भगाउने औषधि र सनस्क्रीन प्रयोग गर्न, पौडी खेल्न, धूम्रपान गर्न र माछालाई आहारा दिन रोक लगाइएको छ । भीड घटाउने उपाय नै भने अपनाइएको छैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)