धनगढी । कैलाली उद्योग वाणिज्य सङ्घमा ४ हजारभन्दा बढी नक्कली सदस्य रहेको पाइएको छ । सङ्घको आगामी वैशाख २२ गते हुने निर्वाचनका लागि गैरव्यवसायीलाई सदस्यता दिइएकोप्रति सङ्घका पूर्वअध्यक्षहरू सङ्घका पूर्वअध्यक्षहरू गोपाल हमाल र दिनेशराज भण्डारीले आपत्ति व्यक्त गरेका छन् । उद्योग वाणिज्य सङ्घको विधानविपरीत नक्कली व्यवसायीलाई सक्कली बनाएर सदस्यता दिएको भन्दै उद्योगी, हमाल, भण्डारी र रविनकान्त पन्तलगायत उद्योगी व्यवसायीको समूहले धनगढीमा मङ्गलवार पत्रकार सम्मेलन गरी विरोध गरेका छन् ।
एउटै व्यक्तिले विभिन्न प्रकृतिको कारोबार गर्न चाहेमा एउटै फर्ममा कारोबार थप गर्न वाणिज्य तथा राजस्व कार्यालयको कानूनी व्यवस्था छ । तर, वडा कार्यालयको सिफारिशमा एकै घरका विभिन्न सदस्यले व्यवसाय गर्ने भन्दै एउटै व्यक्तिले उस्तै नामका दर्जनौं सदस्यता पाउनु कानूनविपरीत भएको भन्दै त्यसविरोद्ध व्यवसायी रविनकान्त पन्त र सञ्जय चौधरीले चैत २३ गते जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेका थिए ।
उजुरीमाथि प्रशासनमा छानविन चलिरहेकै अवस्थामा एउटै व्यक्तिले एकैदिन ९ लाख र ६ लाखको चेक कैलाली उद्योग वाणिज्य सङ्घको खातामा जम्मा गरी नक्कली सदस्यता किनेको भन्दै व्यवसायी पन्तले गैरव्यवसायीको सदस्यता खारेज नभए आगामी मनोनयन दर्ताकै दिन सङ्घमा तालाबन्दी र थप सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएका छन् । गैरव्यवसायीको सदस्यतालाई वैशाख २२ गतेको साधारणसभाबाट खारेज गरी वास्तविक सदस्यबाट मात्र नयाँ कार्यसमिति चयन हुने वातावरण बनाउन पूर्वअध्यक्षहरू हमाल र भण्डारीले संयुक्त प्रेश विज्ञप्तिमार्फत आगामी नेतृत्वका दुवै प्यानललाई आग्रह गरेका छन् । आगामी अध्यक्ष नेतृत्वका लागि सङ्घका वर्तमान महासचिव रूपेश स्वाँर र कोषाध्यक्ष पुष्पराज कुँवरको प्यानल चुनावी मैदानमा छ ।