सुर्खेत । गतवर्षको तथ्याङ्क हेर्दा जुम्लामा १ लाख २० हजार थान किताब आवश्यक पर्छ । फागुन महीनामै शैक्षिक सत्र शुरू हुने जुम्लामा यो वर्ष ६२ हजार ५ सय ५० थान मात्रै किताब गएको छ । उक्त तथ्याङ्कअनुसार जुम्लामा ५२ प्रतिशत मात्र नयाँ किताब पुगेको छ ।
शैक्षिक सत्र त शुरू भइसक्दा ४८ प्रतिशत किताब कसरी परिपूर्ति भएन भन्ने सोधखोजको विषय बनेको छ । जुम्लामा तीन विक्रेताले किताब ढुवानी गर्छन् । जनक शिक्षाले जुम्लामा किताब ढुवानी गर्नेलाई ९ प्रतिशत छूट र १६ प्रतिशत ढुवानी खर्च दिन्छ । किताब ढुवानी गर्ने जुम्लाका जीभी स्टेशनरीका सञ्चालक गणेशबहादुर रोकायले जिशिकाले कम निकासा दिने बताएर विद्यालयहरूले कम किताब किन्ने गरेको बताए । १ हजार ३ सय थान किताव लगेका उनको डेढ सय थान त अझै बिकेको छैन ।
डोल्पामा ३५ हजार थान किताब किन्नुपर्नेमा २९ हजार थान किनिएको छ । हुम्लामा ५३ हजार थान जानुपर्नेमा ४९ हजार ४ सय ५२ थान किताब गएको छ । बाँकी किताब जाने सम्भावना नै छैन । ‘आँकडा गलत हो या त सबैलाई पुग्ने किताब किन लगिएन । पछि किताब पाएनन् भनेर पत्रपत्रिकामा समाचार आउन बेर छैन,’ जनक शिक्षाका कर्मचारीहरू भन्छन् । कर्णाली अञ्चलका मुगुको २०७२ र कालीकोटको २०७३ मा शैक्षिक सत्र परिवर्तन गरिएको छ । यी दुई जिल्लामा वैशाखदेखि नयाँ शैक्षिक सत्र शुरू हुन्छ ।
जनक शिक्षा सामग्री केन्द्र, नेपालगञ्जका प्रमुख रवीन्द्र शर्माले अब कर्णालीका जुम्ला, हुम्ला र डोल्पामा थप किताब जाने सम्भावना कम रहेको बताए । कर्णाली मात्र होइन, अन्य ठाउँमा पनि नयाँ शैक्षिक सत्र शुरू भइसक्दा किताब भने जानुपर्ने जति गएको छैन । जनक शिक्षा सामग्री केन्द्रको नेपालगञ्जस्थित गोदाममा थन्किएका छन् । अहिलेसम्म ६३ प्रतिशत किताब विक्री भएको शर्माले जानकारी दिए ।
साविकको मध्यपश्चिमका १५ जिल्लामा नेपालगञ्जबाट किताब पठाइन्छ । यो क्षेत्रमा ३२ लाख थान किताब आवश्यक पर्छ । नेपालगञ्जमा ३० लाख थान किताब आएको छ । त्यसमा १८ लाख ८४ हजार ७ सय २६ थान किताब विक्री भएको छ । चैत २५ गतेभित्र सबै जिल्लाको सदरमुकाममा किताब पुर्याइसक्न जनक शिक्षालाई माथिबाट निर्देशन थियो । सबै जिल्लाले आधाआधी किताब लगेका छन् । जिल्लालाई पुग्ने किताब कुनै पनि जिल्लाले लगेका छैनन् । जनक शिक्षा सामग्री केन्द्र, नेपालगञ्जका प्रमुख शर्माले भने, ‘अहिले किताब फालाफाल छ । लिन आउँदैनन्, ९ महीनापछि विद्यार्थीले किताब पाएन भनेर खैलाबैला गर्छन् ।’
नयाँ संरचनाअनुसार किताबको आर्थिक निकासा गर्ने अधिकार स्थानीय निकायतिर सरेको छ । स्कूलले किताब किन्ने र स्थानीय निकायले पैसा दिने नयाँ व्यवस्था छ । स्थानीय निकायले किताबका लागि रकम निकासा गरिसकेका छैनन् । स्कूलहरूले ‘जोखीम’ लिएर अलिअलि किताब किनेका छन् ।
साविकको कर्णाली अञ्चलका जिल्लाबाहेक अरू ठाउँमा वैशाख १५ गतेदेखि पढाइ हुन्छ । जिल्लाका नौओटै स्थानीय तहमा किताबका लागि रकम निकासा गरिनसकेको जानकारी उनले दिए । जनक शिक्षाले ६ देखि १० कक्षाका किताब विक्री गरिरहेको छ । १ देखि ५ कक्षाको निजीक्षेत्रले विक्री गर्छन् ।