पर्वत । जलयात्रा (र्याफ्टिङ)को सिजन शुरू भएसँगै कालीण्डकी नदीमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । व्यावसायिक रूपमा मालढुङ्गाबाट नयाँ पुलसम्म जलयात्रा शुरू भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।
पर्वतको मोदीका ३ युवाले ७० लाखको लागतमा कालीगण्डकीमा व्यावसायिक जलयात्रा सञ्चालन गरेका छन् । जाडोयामको समाप्तिसँगै चैतको पहिलो सातादेखि नै जलयात्राका लागि पर्यटक आउन थालेका छन् । कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएपछि पर्वतसहित बागलुङ, म्याग्दी, कास्की र स्याङ्जाबाट आन्तरिक पर्यटक आउने गरेको कालीगण्डकी क्याम्प र्याफ्टिङ कम्पनीका सञ्चालक होमबहादुर पुनले जानकारी दिए । यसअघि पोखराका र्याफ्टिङ कम्पनीले मात्र जलयात्रा गराउने गरेका थिए । पोखराका व्यवसायीको सिण्डिकेट तोड्दै आफूहरूले यो व्यवसाय शुरू गरेको पुनले बताए ।
लामो, समथर र कम बहाव भएकाले कालीगण्डकीलाई पर्यटकले रोज्ने गरेका छन् । कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि १० समूहमा पर्यटक आउने गरेका छन् । लस्तीदेखी नयाँपुल र मालढुङ्गादेखि नयाँ पुलसम्म दुई गन्तव्यमा जलयात्रा सञ्चालन गरिएको छ । ‘स्वदेशी पर्यटकहरू खासै जलयात्रामा रुचि राख्दैनथे,’ सञ्चालक नवीन थापाले भने, ‘सस्तो मूल्यमा जलयात्रा शुरू भएपछि विदेशीभन्दा स्वदेशी पर्यटक बढी आउने गरेका छन् ।’ पोखरा हुँदै अन्नपूर्ण पदमार्गमा पदयात्रा र कालीगण्डकीको जलयात्रालाई प्याकेज बनाउने पर्यटक बढ्दै गएको व्यवसायी बताउँछन् ।