ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेत–दाङ सडक कालोपत्र हुँदै

Apr 30, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेत–दाङ सडक आगामी २ वर्षभित्र कालोपत्र हुने भएको छ । उक्त अवधिमा कालोपत्र गर्न मध्यपश्चिम सडक डिभिजन कार्यालयले कालिका जेभी प्यासिफिक कन्ष्ट्रक्शनलाई जिम्मा दिएको छ । ३ वर्षभित्र दाङको तुलसीपुरदेखि सल्यान र सुर्खेत सिमाना काल्चेसम्मको ६२ किलोमिटर सडक कालोपत्र गर्न ३३ करोड रुपैयाँमा कम्पनीसँग सम्झौता भएको हो । उक्त सडकलाई तीन खण्डमा विभाजन गरी काम भइरहेको डिभिजन कार्यालयले बताएको छ । सुर्खेत–दाङ सडकखण्डको लम्बाइ ७७ किमी छ । तर, दाङको सडक डिभिजनले त्यसमध्ये ६२ किमी काम गर्ने र बाँकी १५ किमीको काम सुर्खेत सडक डिभिजन कार्यालयले गर्नेछ । अहिले सुर्खेतको बोटेचौरदेखि पुरन्धारा–तुलसीपुर सडक स्तरोन्नतिको काम तीव्र पारिएको छ । सल्यानको कालिमाटी गाउँपालिकाभित्र पनि सडक स्तरोन्नतिको काम तीव्र पारिएको हो । २४ किमी सडकको स्तरवृद्धिसँगै कालोपत्र गर्न थालिएको डिभिजन कार्यालयको भनाइ छ । सडक स्तरवृद्धि तथा कालोपत्र गर्न सरकारले रू. ४० करोड बजेट विनियोजन गरेको छ । डिभिजन कार्यालयका अनुसार सडक १० मिटर चौडाइको बनाउन थालिएको छ । डिभिजन प्रमुख बद्रीप्रसाद शर्माका अनुसार काम शुरू भएको ४ महीनामा ५ किमी सडक चौडा गरिएको छ । सडकका छेउमा पर्खाल लगाउने काम भइरहेको र सडकको साढे ५ मिटर चौडाइमा कालोपत्र गरिने शर्माले बताए । दायाँ–बायाँ १५÷१५ मिटरको मोहडा हुने व्यवस्था रहे पनि वनका रूख काट्नुपर्ने भएकाले केही समस्या भएको उनको भनाइ छ । ‘रूख काट्नका लागि सडकको दायाँबायाँ भएका रूखको लगत लिई विभागमा पठाइसकेका छौं,’ उनले भने, ‘अनुमति आउन ढिलाइ भएको छ ।’ सुर्खेतको बोटेचौरदेखि पुरन्धारा–दाङको तुलसीपुर जोड्ने सडक निर्माण थालिएको हो । तुलसीपुरबाट अमेलिया हुँदै सुर्खेत पुग्न १ सय ८८ किमी पर्छ । तर, सुर्खेत–तुलसीपुर खण्ड सञ्चालन आएपछि अहिलेभन्दा करीब ७० किमी छोटो दूरी पर्ने कार्यालयले बताएको छ । सडक कालोपत्र भएपछि दाङको तुलसीपुरदेखि सुर्खेतसम्म सवारीसाधन सञ्चालनमा सहजता हुनेछ । ठेकेदार कम्पनीका सुपरभाइजर सञ्जीव श्रेष्ठले गत असारमा टेण्डर परे पनि पुसदेखि काम शुरू गरेको बताए । उनले झण्डै ४ किमीको काम सम्पन्न गरिसकेको जानकारी गराए । सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश अधिकारीले पूर्वाधार निर्माणमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरे । सुर्खेत–दाङ सडक निर्माणले यहाँको आर्थिक विकासमा महŒवपूर्ण योगदान पुग्ने उनको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)