सुर्खेत । कर्णाली प्रदेशलाई डिजिटल प्रदेश बनाउने गृहकार्य शुरू भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) सुर्खेत शाखाले बुधवार ‘राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७५’ मनाउन आयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । कार्यक्रममा कर्णाली प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानून मन्त्रालय उपसचिव भक्तबहादुर कार्कीले प्रदेश सरकारले कर्णालीका १० ओटै जिल्लामा क्यान महासङ्घको सहकार्यमा सरकारी कामकाज पेपरलेस बनाउन लागेको जानकारी दिए । कार्यक्रममा सोही मन्त्रालयका अर्का उपसचिव उपेन्द्रकेशर खनालले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिले हामी पनि अछूतो नरहेकाले समयसापेक्ष प्रविधिमैत्री बन्न आवश्यक रहेको औंल्याए । उनले सरकारी कामकाजमा मात्र नभई सर्वसाधारणले समेत सूचना प्रविधिलाई अङ्गीकार गर्न आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा कर्णाली प्रदेशका क्यान अध्यक्ष पूर्णदेव अधिकारीले सूचना प्रविधिको क्षेत्रमा नेपाल अन्य मुलुकभन्दा पछाडि परेकाले राज्यले समयानुकूल ठोस नीति ल्याउन आवश्यक रहेको बताए । उनले नेपालमा पहिलोपटक कम्प्यूटर भित्रिएको आजैका दिनलाई राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको रूपमा मनाउँदै आएको जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेशलाई डिजिटल प्रदेशको रूपमा रूपान्तरण गर्न सबैसँग सहकार्य गर्न आवश्यक हुन्छ । यसअघि कम्प्यूटर एशोसिएशन नेपाल महासङ्घ सुर्खेतको अगुवाइमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७५ को अवसर पारेर र्यालीको आयोजना गर्दै मङ्गलगढी चोकदेखि वीरेन्द्र चोक हुँदै बजार परिक्रमा गरिएको क्यान महासङ्घ सुर्खेतका अध्यक्ष प्रेमप्रकाश चन्दले जानकारी दिए ।