ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

देशका ३७ ओटा कलेजमा ए–लेभल

May 3, 2018  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
नेपालमा ए–लेभल शुरू भएको करीब ३१ वर्ष (सन् १९८७)को अवधिमा ३७ ओटा शैक्षिक संस्थाबाट पठनपाठन हुँदै आएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको २०७५ वैशाख २ गतेसम्मको तथ्याङ्कअनुसार नेपालमा काठमाडौं, पोखरा, विराटनगर, काभ्रे, धुलिखेललगायत क्षेत्रबाट ३ दर्जनभन्दा बढी कलेजले बेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन लिएर ए–लेभल सञ्चालन गरेका छन् । अहिले आकर्षणको केन्द्रबिन्दु बनिरहेको ए–लेभललाई सरकारले थप्न अनुमति भने दिएको छैन । शिक्षा मन्त्रालयका सह सचिव डा. हरि लम्सालका अनुसार नेपाल सरकारले २०७० सालदेखि थप ए–लेभल खोल्ने अनुमति दिएको छैन । मन्त्रालयका अनुसार गतवर्षदेखि ए–लेभलको अनुगमन शुरू गरेको छ । ए–लेभलको परिचय बेलायतको क्याम्ब्रिज इण्टरनेशनल एक्ज्यामिनेशन्स (सीआईए) तथा क्याम्ब्रिज विश्वविद्यालयको जनरल सर्टिफिकेट अफ एजुकेशन (जीसीई) कार्यक्रमअन्तर्गत नेपालमा ब्रिटिश काउन्सिलको सहयोगमा ए–लेभलको अध्यापन हँुदै आएको छ । समय र प्रविधिसँगै परिवर्तन हुँदै गएका आधुनिक युवापुस्ता र शैक्षिक संस्थाको आवश्यकतालाई ध्यानमा राखेर ए–लेभलको पढाइ शुरू गरिएको हो । विशेष गरेर ए–लेभल १६ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीका लागि तयार पारिएको उच्च माध्यमिक शिक्षाको पाठ्यक्रम हो । यो यसअघिको एसएलसी र अहिलेको एसईई परीक्षापछि अध्ययन गर्न सकिने तह हो । विदेशमा विद्यार्थीले अर्डिनरी (ओ) लेभल अध्ययन गरेपछि एड्भान्स (ए) लेभल अध्ययन गर्छन् । नेपालमा भने एसईई (यसअघि एसएसलसी)पछि सीधै ए–लेभल अध्ययन गर्न पाइन्छ । हाल नेपाल सरकारले १० कक्षापछिको ११ र १२ कक्षालाई माध्यमिक तह नै तोकिदिएको छ । यसअघि प्लस टूको मान्यता दिइएको ए–लेभल अहिले माध्यमिक तहसरह भएको छ । ए–लेभलमा ११ कक्षालाई एड्भान्स सब्सेडियरी (ए एस) र १२ कक्षालाई एड्भान्स लेभल (एटू) भनिन्छ । यी दुवै कार्स सकिएपछि विद्यार्थीको ए–लेभल सकिन्छ । ११–१२ कक्षापछि वा ए–लेभलपछि विद्यार्थीले स्नातक तह भर्ना गर्न पाउँछन् । तर, ए–लेभल अध्ययन गर्ने विद्यार्थीका लागि यसपछिको शिक्षा छनोटका आधार धेरै हुन्छन् । दुवैको मान्यता उस्तै भए पनि पढाइको गुणस्तर र अन्तरराष्ट्रिय मान्यताको आधारमा ए–लेभल अगाडि नै छ । बेलायतको क्याम्ब्रिज युनिभर्सिटीले नेपालमा यो शिक्षाको पाठ्यक्रम सम्बन्धन, अनुगमन र परीक्षा सञ्चालन गर्न काठमाडौंस्थित ब्रिटिश काउन्सिललाई अधिकार दिएको छ । ए–लेभलका करीब ७० ओटा विषयमध्ये विद्यार्थीले रोजेका कुनै चार विषयमा अध्ययन गरेर वर्षको दुईपटक (अक्टोबर–नोभेक्बर र मे–जुन) परीक्षा दिएपछि यो तह पूरा हुन्छ । यो परीक्षा उत्तीर्ण विद्यार्थीले विश्वका जुनसुकै विश्वविद्यालयमा स्नातक तहमा भर्ना हुन पाउँछन् । विश्वभर यसको एउटै कोर्सका साथै परीक्षासमेत एकै समयमा हुन्छ । परीक्षामा सोधिने प्रश्न पनि सबै मुलुकका लागि एउटै हुन्छ । नेपालको ए–लेभल कलेजमा पढेका विद्यार्थीहरू विश्व उत्कृष्ट हुने गरेका छन् । यसले यहाँ सञ्चालित ए–लेभलको गुणस्तरलाई स्पष्ट पारेको छ । गतवर्ष ए–लेभलको परीक्षामा समृद्धि श्रेष्ठ विश्वकै उत्कृष्ट भइन् । रातो बङ्गला स्कूलकी उनी सन् २०१६ को जुन र नोभेम्बरको ए–लेभल परीक्षामा अङ्ग्रेजी भाषा र साहित्यतर्फ विश्वमै उत्कृष्ट भएकी हुन् । साथै, नेपालमा यसपटक ए–लेभलमा उत्कृष्ट भएका ४३ जनालाई अवार्ड दिइएको थियो । यसअघि, सन् २०१० को सेसनमा रातो बङ्गला स्कूलका व्यञ्जना थापा र शिताश्मा नेपाल विश्व उत्कृष्ट हुन सफल भएका थिए । काठमाडौं युनिभर्सिटी हाई स्कूलका संयोजक सुरेन्द्र जोशी ए–लेभलमा पढ्ने, पढाउने र दुवै तरीका फरक भएको बताउँछन् । ‘ए–लेभल पढ्न विद्यार्थीमा घोक्नेभन्दा पनि सृजनशील, जिज्ञासु र आफ्नो ज्ञान प्रयोग गरेर खोजी खोजी पढ्ने गुण हुनुपर्छ,’ उनले भने, ‘सिकाइ नै व्यावहारिक हुने भएकाले यसको वातावरणले विद्यार्थीलाई पनि यस्तो बनाउँछ ।’ उनका अनुसार यो पाठ्यक्रम पढेका विद्यार्थीमा कुनै पनि समस्यासँग सीधै जुझ्न सक्ने क्षमताको विकास हुन्छ । यो शिक्षामा लिखित, मौखिक, प्रयोगात्मक र प्रोजेक्ट वर्कका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिने हुँदा एकदिने जाँचविधिले भन्दा राम्रो मूल्याङ्कन हुन्छ । ए–लेभलको बुझाइ, यथार्थ र आकर्षण मूलतः सेमिनार, छलफल, प्रयोगशाला, समस्या समाधान, समूह क्रियाकलाप, प्रोजेक्ट कार्य, खोजबिन, प्रस्तुतीकरण, समसामयिक अध्ययन आदिमा ए–लेभलको कोर्स आधारित हुन्छ । ए–लेभलको पाठ्यक्रमलाई प्रत्येक वर्ष अद्यावधिक गरिने भएकाले पनि यसलाई वैज्ञानिक र विश्वप्रतिस्पर्धी शैक्षिक प्रणाली मानिएको छ । ए–लेभलले विद्यार्थीलाई आत्मविश्वासी बनाउँछ र जिम्मेवारी वहन गर्न सिकाउँछ । यसले विद्यार्थीलाई परिवर्तनशील बन्न सिकाउने मात्र होइन, उनीहरूको बौद्धिक र तार्किक क्षमता पनि बढाउँछ । किनकि यसको शैक्षिक प्रणाली नै व्यावहारिक र विश्वप्रतिस्पर्धी हुन्छ । ए–लेभल सकेपछि विद्यार्थीले आफ्नो विषयगत अध्ययनका आधारमा चिकित्साशास्त्र, इञ्जिनीयरिङ, व्यवस्थापन, मानविकी जुनसुकै विषयमा पनि विश्वका जुनसुकै विश्वविद्यालयमा पढ्न पाउँछन् । नेपालमा ए–लेभल पढेपछि इञ्जिनीयर पढ्न पाइँदैन भन्ने भ्रम छ । तर, यो सत्य होइन । यसको अर्को राम्रो पक्ष विद्यार्थीले आफ्नो रुचिअनुसार अलग–अलग कार्यक्रमको विषय पनि पढ्न सक्छन् । जस्तै– एउटा विद्यार्थीले विज्ञान सङ्कायको फिजिक्स, मानविकीको समाजशास्त्र र व्यवस्थापनको एकाउण्ट पढ्छु भन्यो भने उसलाई रोकावट हुँदैन । विद्यार्थीलाई जुनसुकै विषय छानेर पढ्ने स्वतन्त्रता क्याम्ब्रिज विश्वविद्यालयले दिएको छ । धेरै विषयभित्र छानेर आ–आफ्नो परिवेशअनुसार पढ्न पाइन्छ । तोकिएकै समयमा परीक्षा र नतीजा आउने भएकाले पनि विद्यार्थीहरू यो कोर्सलाई सहज मान्छन् । विद्यार्थीले विषय छानेर परीक्षा दिन पाउने व्यवस्था यसमा हुन्छ । जस्तै– पाँचओटा विषय लिएको विद्यार्थीले पहिले दुई र पछि बाँकी विषयको परीक्षा दिन पाउँछन् । प्रमाणपत्र आउने बेलामा त्यसले कुनै फरक पार्दैन । अझ कुनै विद्यार्थी ए–लेभलमा आफूले ल्याएको परिणामबाट सन्तुष्ट नभएमा फेरि परीक्षा दिइरहन पनि पाउँछ । ए–लेभल पढेपछि अन्तरराष्ट्रियस्तरमै प्रतिस्पर्धा गर्न सजिलो हुने भएकाले ए–लेभलप्रति विद्यार्थीको आकर्षण बढेको ए–लेभलका सञ्चालकहरू बताउँछन् । ए–लेभल अध्ययनपछि अन्तरराष्ट्रियस्तरको प्रमाणपत्र पाइने र विश्वको जुनसुकै शैक्षिक संस्थामा सजिलै अध्ययन गर्न सकिने भएकाले धेरै विद्यार्थी यसतर्फ आकर्षित भएको उनीहरूको भनाइ छ । बेलायत, अष्ट्रेलिया, अमेरिकालगायत मुलुकका विश्वविद्यालयले ए–लेभल गरेकालाई मात्र अन्तरराष्ट्रियस्तरका विद्यार्थी मान्ने गरेकाले यसको महŒव झनै बढ्न थालेको छ । ए–लेभल अध्ययनका लागि सीमित कोटामा विद्यार्थीको तँछाडमछाड नै हुन्छ । यो पढेपछि अन्तरराष्ट्रिय मान्यता हुने र गुणस्तरीय शिक्षा प्राप्त गर्न पाइने भएकाले अभिभावक पनि आफ्ना छोराछोरीलाई ए–लेभल पढाउन चाहन्छन् । ए–लेभल उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जान विद्यार्थीले आईएलटीएस, टोफेलजस्ता परीक्षा दिइरहनु पर्दैन । यो पनि आकर्षणको एउटा कारण हो । शुल्क ए–लेभल शिक्षा सर्वसाधारणका लागि भने महँगो लाग्न सक्छ । निम्न वर्गका विद्यार्थीले यो कोर्स पढ्न आर्थिक हिसाबले मुश्किल पर्छ । यसबारे कलेजका सञ्चालकहरूको धारणा पनि मिल्छ । तर, नामी कलेजका प्रबन्धक अमरदीप मण्डल विदेशमा यही कोर्स पढ्न महँगो हुने तर नेपालमा धेरै कममा पढ्न सकिने बताउँछन् । उनका अनुसार नेपालमा यो विषय अध्ययनका लागि कलेजहरूले भर्नाशुल्क रू. ६० हजारदेखि १ लाखसम्म लिने गरेका छन् भने मासिक शुल्क शैक्षिक संस्थाअनुसार करीब रू. १२ हजारदेखि २० हजारसम्म लाग्छ । यसबाहेक ब्रिटिश काउन्सिललाई प्रतिव्यक्ति परीक्षा शुल्कसमेत तिर्नुपर्छ । ए–लेभलका विशेषता
  • आफूले चाहेको समयमा परीक्षा दिन पाइने
  • नतीजा चित्त नबुझेमा फेरि परीक्षा दिन पाइने
  • व्यावहारिक शिक्षा
  • समयअनुसार अन्तरराष्ट्रियस्तरको पाठयक्रम परिमार्जन हुने
  • अनुसन्धानमा जोड दिइने
  • जुनसुकै देशमा अध्ययन गर्न सहज
  • वैज्ञानिक पाठ्यक्रम
  • विश्वस्तरको मान्यता
  • उत्कृष्ट नतीजा
  • पाठ्यक्रम र शिक्षण, परीक्षा तथा ग्रेडिङ प्रणाली सबै क्याम्ब्रिज विश्वविद्यालयको मापदण्डअनुसार
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)