वैशाख २७, काठमाडौं । कम्पनीसम्बन्धी विषयलाई चिरफार गरी बजारमा ‘कम्पनी कानून’ नामक पुस्तक बजारमा आएको छ । अधिवक्ता अवतार न्यौपानेद्वारा लिखित सो पुस्तकलाई बिहीवार कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले विमोचन गरेका छन् ।
पुस्तकको विमोचन गर्दै कामुप्रधान्यायाधीश जोशीले विदेशी कानूनलाई हचुवाको भरमा नेपालमा स्वीकार गर्दा दुःख पाउने अवस्था आउने बताए । जोशीले नेपालको वातावरण सुहाउँदो विदेशी कानूनलाई मात्र स्वीकार गर्ने वातावरण नभएसम्म यहाँको अवस्था नसुध्रने उल्लेख गरे ।
पुस्तकमा प्राइभेट फर्म, साझेदारी फर्म र सहकारी संस्था बीच भएको भिन्नता, कम्पनीको परिभाषा, सार्वजनिक संस्थानको विकास, विशेष ऐनअन्तर्गत गठित संस्थानको परिचय, संस्थानहरु बीचको फरकको बारेमा उल्लेख गरिएको छ ।
यसैगरी कम्पनीको विशेषता, कम्पनीविरुद्ध र कम्पनीले मुद्दा लाग्ने र लगाउन सक्ने अवस्थालाई उदाहरणसहित प्रस्तुत गरिएको छ । कम्पनी कानूनको विकासक्रम, वेलायत, भारतलगायतका देशमा यसको विकास, मुनाफा बाँडफाँडका आधारहरुलगायतका विषयलाई पुस्तकमा प्रस्तुत गरिएको छ ।
कम्पनीको दायित्व, कम्पनीको लेखा तथा लेखा परीक्षण, कम्पनी गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने, कम्पनीको खारेजीको अवस्था कम्पनीका विवाद र कानूनी उपचार पनि पुस्तकमा लेखिएका छन् ।
पुस्तकमा नेपाल, भारत र बेलायतका सर्वोच्च अदालतबाट प्रतिपादित भएका १ सय ४ ओटा कम्पनीसँग सम्बन्धित नजिरहरु प्रस्तुत गरिएका छन् भने ९ सय ९९ ओटा पाद टिप्पणीहरु समेटिएका छन् । यो पुस्तकको विशेषता हो । पुस्तकका लेखक अधिवक्ता न्यौपानेले विमोचन कार्यक्रममा कम्पनीको कानूनको विकासक्रमलाई नियाल्दा ८० वर्षको इतिहासमा नेपालले ५ ओटा कानून पाएको उल्ल्ोख गर्दै यी कानूनको आफ्नो आफ्नो विशेषता रहेका बताए ।