रौतहटमा उद्योग स्थापनाको क्रम बढ्दो : तीनओटा सञ्चालनको तयारीमा
May 13, 2018
 
प्रदेश समाचार
रौतहट । उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएपछि रौतहटमा तीनओटा उद्योग सञ्चालनमा आउने भएका छन् । कटहरिया नगरपालिका–९, डुमरियामा बाबा वैजनाथ चिनी उद्योग, चन्द्रपुर नगरपालिका–९ बालचनपुरमा गोदावरी स्टिल इण्डष्ट्रिज तथा एभरेष्ट डिष्टिलरी सञ्चालनमा आउन लागेका हुन् । १ अर्ब २५ करोडको लागतमा बाबा वैजनाथ चिनी उद्योग सञ्चालनमा आउन लागेको छ । उद्योगले आगामी सिजनदेखि उखु क्रसिङ शुरू गर्ने जानकारी दिएको छ । गोदावरी स्टिल इण्डष्ट्रिजमा धमाधम उपकरण जडान भइरहेको छ । आगामी २ महीनाभित्र उद्योगले फलामे रड उत्पादन गर्ने बताएको छ । त्यस्तै, एभरेष्ट डिष्टिलरी पनि सञ्चालनको तयारीमा रहेको घरेलु तथा साना उद्योग कार्यालय गौरका प्रमुख जयकान्त झाले बताए । सातओटा ठूला लगानीका उद्योग स्थापनाका लागि दर्ता भएकामा तीनओटा सञ्चालनको तयारीमा रहेको उनले जानकारी दिए । शान्ति सुरक्षा उद्योगका लागि चाहिने वातावरण राम्रो भएकाले उद्योग थपिने क्रम बढेको उनको भनाइ छ । उद्योग दर्ताबाट १ करोड ८ लाख राजस्व सङ्कलन भएको प्रमुख झाले बताए । यसअघि श्रीराम सुगर मिल्स, बाबा डिष्टिलरीलगायत उद्योग जिल्लामा सञ्चालनमा रहेका थिए ।
रोजगार सृजना गरी सामाजिक तथा आर्थिक जीवनस्तरमा सुधार ल्याउन उद्योगको महŒवपूर्ण भूमिका हुने बताउँदै नयाँ उद्योग स्थापना हुनुपर्नेमा रौतहट उद्योग वाणिज्य सङ्घका अध्यक्ष पण्डितप्रसाद जयसवालले जोड दिए । रौतहटलाई औद्योगिक क्षेत्रका रूपमा स्थापना गर्न सबैले पहल गर्नुपर्ने उनको भनाइ छ ।
जिल्लामा पछिल्लो समय इँटा उद्योग स्थापना गर्ने क्रमसमेत बढ्दो छ । अहिले १ सय ३२ ओटा इँटा उद्योगको सङ्ख्या पुगेको छ । घरेलु तथा साना उद्योग कार्यालय गौरका अनुसार ९ सय ४३ ओटा सेवामूलक, ७ सय ३० उत्पादनमूलक, २ सय २९ निर्माणमूलक, कृषि तथा वनजन्य १ सय ५७ र पर्यटनजन्य ९४ दर्ता भएका छन् । चालू आवको साउनदेखि चैतसम्ममा ५ सय ८७ ओटा नयाँ उद्योग दर्ता भएको सो कार्यालयले जानकारी दिएको छ । गत आवमा ५ सय ९४ ओटा नयाँ उद्योग दर्ता भएका थिए ।