वैशाख ३१, सुर्खेत । कर्णाली प्रदेशका २७ डिपोमा ९२ हजार क्विण्टल चामल अपुग भएको छ । दुर्गम तथा हिमाली क्षेत्रका लागि चामल उपलब्ध गराउँदै आएको नेपाल खाद्य संस्थानले चालू आर्थिक वर्षमा ९२ हजार क्विण्टल चामल अपुग देखिएको जानकारी दिएको हो ।
नेपाल खाद्य संस्थान सुर्खेतका प्रमुख भिमबहादुर थापाले चालू आवमा स्वीकृत कोटा ४२ हजार ४० क्विण्टलमा ४१ हजार १ सय ४२ क्विण्टल चामल २७ ओटा डिपोमा पठाइएको जानकारी दिए । गत आवको तुलनामा यो वर्ष खाद्य संस्थानको स्वीकृत कोटामा २४ हजार १ सय ५५ क्विण्टल कम देखिएको छ । गत आवमा खाद्य संस्थानबाट ६५ हजार २ सय ९७ क्विण्टल चामल सुर्खेतबाट कर्णालीका २७ डिपोमा चलान भएको थापाको भनाइ छ । नेपाल खाद्य संस्थानले कर्णाली प्रदेशका हुम्ला जुम्ला, कालिकोट डोल्पा, मुगु, दैलेख लगायतका स्थानका विभिन्न डिपोमा चामल ढुवानी गर्दै आएको छ ।
नेपाल खाद्य संस्थान सुर्खेत कार्यालयले हुम्ला जिल्ला शाखा र डिपोमा कुल ११ हजार ८ सय १७ क्विण्टल १५ केजी चामल हवाई ढुवानी र स्थलमार्ग हुँदै पुर्याई सकेको बताएको छ । यस्तैगरी मुगु जिल्लाका सबै डिपो र शाखाका लागि ८ हजार ५२ क्विण्टल ४ केजी पठाएको छ । जुम्लाको लागि ४ हजार ३ सय ६४ क्विण्टल ८५ केजी चलान गरिएको छ । डोल्पाका लागि ४ हजार ७ सय ९४ क्विण्टल ८० केजी र कालिकोटाका लागि ५ हजार ४९ क्विण्टल ८० केजी पठाइए पनि थप माग आएको छ । यो आर्थिक वर्षमा दैलेखमा ५ सय ४१ क्विण्टल २० केजी चामल ढुवानी भएको छ । बाजुराको कवाडी विक्री केन्द्रका लागि २ हजार ९ सय ७८ क्विण्टल १० केजी चामल खाद्य संस्थानबाट चलान गरिसकेको संस्थानका सुर्खेत प्रमुख थापाले जानकारी दिए । उनका अनुसार, हिमाली तथा दुर्गम जिल्लाका २७ ओटा डिपोमा ९७ प्रतिशत चामल खाद्य संस्थानले पठाइसकेको छ ।