ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक वडा एक जलाशय निर्माण योजना

May 23, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar उदय बीसी
दाङ । दाङको घोराही उपमहानगर–पालिकाले नगर क्षेत्रभित्र जलाशय संरक्षणमा बृहत् योजना अघि सारेको छ । योजनाअनुसार उपमहानगर–१३ मा करीब १ किलोमिटर क्षेत्रफलको जलाशय निर्माण गर्न शुरू गरेको छ । उक्त क्षेत्रमा आर्थिक वर्ष २०७३/७४ मा रू. ९७ लाखको लगानीमा जलाशय निर्माण गरिएको थियो । आगामी वर्षमा थप बजेट विनियोजन गरिने उपमहानगरका प्रमुख नरुलाल चौधरीले बताए । ‘एउटै योजनाबाट बहुउपयोगी काम गर्न सकिन्छ,’ उनले भने, ‘हामीले त्यस क्षेत्रमा सानो स्तरको निकुञ्जसमेत स्थापना गर्ने योजनामा छौं, त्यसको शुरुआत गरिसकेका छौं ।’ अहिले करीब १ किमी क्षेत्रफलमा निर्माण गरिएको ड्यामले सिँचाइ, खानेपानी, पर्यटन र वातावरण संरक्षणमा टेवा पुग्ने प्रमुख चौधरीको भनाइ छ । उक्त जलाशय निर्माणले त्यस क्षेत्रको तल्लो भेगमा पानीका मूलसमेत फुट्न थालेका छन् । निकट भविष्यमा घोराही, सर्रा र नारायणपुर क्षेत्रमा खानेपानीका लागि सो ड्याम प्रमुख स्रोत बन्ने उपमहानगरका इञ्जिनीयर रामधन श्रेष्ठले बताए । अहिले वराह क्षेत्रदेखि कलमघारीको करीब १ किमी क्षेत्रमा २२ मिटर गहिरो ताल बनेको छ । ‘हामीले केही स्थानमा मात्रै ड्यामको काम गर्नुपर्ने छ, अधिकांश क्षेत्र प्राकृतिक रूपमा अवस्थित छ,’ उनले भने, ‘भूगोलले साथ नदिएको भए यति ठूलो ड्याम बनाउन करोडौं रुपैयाँ खर्च लाग्दथ्यो ।’ त्यसैगरी, ज्यामिरे दहको तल्लो भागमा विगतमा खानेपानीको निकै सङ्कट थियो । तर, अहिले ७ लिटर प्रतिसेकेण्ड पानी मुहानमा आउने गर्छ । सो क्षेत्रमा रहेको करीब ४० हेक्टर सामुदायिक वनमा विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जनावरहरू पाइन्छन् । उनीहरूलाई पानी प्रशस्त हुने इञ्जिनीयर श्रेष्ठले बताए । घोराही उपमहानगरले अहिले जलाशय संरक्षणलाई आफ्नो प्रमुख प्राथमिकताको योजना बनाएको छ । उपमहानगरपालिकाका १ देखि १९ नं. वडासम्मका सबै वडाहरूमा साना तथा ठूला जलाशय संरक्षणका योजना अघि सारिएको मेयर चौधरीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)