पर्वत । गाउँघरमै पाइने कोदाको ढिँडो, गुन्द्रुक, मकैका परिकार, स्थानीय कुखुराको मासुजस्ता अग्र्यानिक खानेकुराले पाहुनाको स्वागत गर्न पर्वतको महाशिला गाउँपालिका–५, दुक्तान र वडा नम्बर ४ लामतुङमा होेम स्टे सञ्चालनमा ल्याइएको छ । दुक्तानमा आठ र लामतुङमा १३ परिवारले होमस्टे सञ्चालनमा ल्याएका छन् । गाउँमा आउने पर्यटकलाई लोभ्याउन स्थानीय परिकारमा बढी जोड दिइएको होम स्टे सञ्चालक भीमप्रसाद गुरुङले बताए । होम स्टे सञ्चालकले गाउँमा पाइने २७ प्रकारका परिकार पाहुनालाई ख्वाउने योजना बनाएका छन् ।
महाशिलामा आकर्षक पर्यटकीय तथा धार्मिक स्थल रहेकाले होमस्टे सञ्चालकलाई पाहुनाको सेवा सत्कारदेखि खाना बनाउने सबै शीप तालीममार्फत प्रदान गरिएको छ । ‘होमस्टेमा प्रदान गर्ने सेवा, सत्कारदेखि खुवाउने खानाका विभिन्न प्रकार बनाउने तरीका हामीले सिकेका छौं,’ सञ्चालक गुरुङले भने । महाशिलामा सञ्चालनमा आएका २१ ओटा घरमा पाँचजनाका दरले एकैचोटि १ सय पाँचजना पाहुना अट्ने क्षमता रहेको छ । महाशिलामा लुङ्खुको महाशिला, पैंयूकोट, चिसापानी लेक, फलामखानीको अवलोकन, गङ्गाधर गुफा, बसाहा मन्दिर मुख्य धार्मिक तथा पर्यटकीय स्थल रहेका छन् । यी स्थलको अवलोकन तथा भ्रमणका लागि ३ दिनको प्याकेज बनाइएको छ ।
होमस्टे सञ्चालनमा आएपछि कुनै पनि गाउँमा आउने पर्यटकलाई बस्नको असुविधा नहुने गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले होम स्टेलाई ‘एक घर एक रोजगार’ कार्यक्रमअन्र्तगत राखिएको बताए । गाउँपालिकाले अहिले ३ सय ७० जनालाई रोजगारी दिने गरी तालीम दिन शुरू गरेको छ । शीपमूलक विभिन्न १८ विधाका तालीममध्ये होम स्टेलाई पनि समावेश गरिएको छ ।