पर्वत । फलेबास नगरपालिका–५ खानीगाउँकी बिन्दु सुनारका श्रीमान् रोजगारीका लागि कतारमा छन् । उनले मासिक ३० हजार रुपैयाँ कमाउँछन् । श्रीमान्ले पठाएको खर्चले घर धान्न मुश्किल भएपछि बिन्दुले घरमै बसेर सहज रूपमा आम्दानी गर्ने बाटो रचिरहेकी छिन् ।
शीप विकास तालीम केन्द्रले गाउँमा सिलाइकटाइ तालीम दिन थालेपछि उनलाई भनेजस्तै भएको छ । ‘सिकेको शीप खेर फाल्दिनँ,’ बिन्दुले भनिन्, ‘तालीमपछि गाउँमै टेलर पसल खोल्छु ।’ भविष्यमा टेलरिङ पसल नै खोल्ने भएपछि उनी तालीममा सबै कुरा सिक्ने सोचमा छिन् । बिन्दु जस्तै सविता थापा पनि तालीम लिनमै व्यस्त छिन् । उनी पनि शीप सिकेर व्यवसाय चलाउने सोचमा छिन् । ‘आफूलाई केही कुराको खाँचो पर्दा अरूसँग हात थाप्न नपरोस् भन्ने कसको चाहना हुन्न र ?’ थापाले भनिन्, ‘आफ्नै खुट्टामा उभिनका लागि तालीम लिँदै छु ।’ थापा र सुनार मात्रै होइन सन्तु दर्जी, अनिता नेपालीसहित २० जना महिला तालीममा सहभागी छन् । उनीहरू सबैको एउटै लक्ष्य ‘बुहारी भनेर अब चुलोचौकोमा मात्रै सीमित हुने होइन, केही गरेर देखाउने’ रहेको छ ।
सम्झना परियारले दिइरहेको तालीम गत महीनादेखि शुरू भएको हो । शीप विकास तालीम केन्द्रका प्रमुख किरणचन्द्र सुवेदीले निःशुल्क रूपमा महिलालाई तालीम दिइएको बताए । सुवेदीले अन्य शीप सिक्नेहरू तालीमपछि हराउने गरेको तर सिलाइकटाइपछि कहीँ न कहीँ समावेश हुने गरेको बताए ।