सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा उत्पादन हुने टिमुरको माग विदेशमा बढ्दै गएको छ । उच्च मूल्य कृषि वस्तु विकास आयोजनाका अनुसार सुर्खेत, जाजरकोट, सल्यानलगायत जिल्लाका कृषकले उत्पादन गरेको टिमुरको माग यूरोपेली मुलुकका साथै जापान, दक्षिण कोरिया, अमेरिकामा बढेको छ । विशेषगरी ती देशका नेपाली रेष्टुराँ र डिपार्टमेण्टल स्टोरबाट टिमुरको माग बढी आउने गरेको छ । माग बढ्दै गएपछि हाल ती देशमा टिमुरको निर्यात पनि बढ्दै गएको व्यवसायीले बताएका छन् । माग बढेपछि टिमुर खेतीमा लागेका किसान र निकासीकर्ता उत्साहित भएको आयोजनाले बताएको छ । कर्णाली प्रदेशबाट मात्रै वार्षिक १५ करोड रुपैयाँबराबरको टिमुर निर्यात हुने गरेको आयोजना प्रमुख राजेन्द्र भारीले जानकारी दिए । भारीका अनुसार जर्मनी निर्यात गरिएको टिमुर मसला बनाएर थप ७५ राष्ट्रमा पुग्ने गरेको छ । टिमुरबाट जिल्लाका कृषकले राम्रो आम्दानी गर्न सफल भएको सुर्खेतका जिल्ला वन अधिकृत हेमराज विष्टले बताए । उनले भने, ‘टिमुर विक्रीबाट कार्यालयलाई वार्षिक १३ लाख ४३ हजार रुपैयाँ राजस्व प्राप्त हुने गरेको छ ।’ टिमुरको व्यावासयिक खेती गर्न चाहने कृषकलाई कार्यालयले सहयोग गरिरहेकोसमेत उनले जानकारी दिए । हाल डाबर नेपाल र जिल्ला वन कार्यालयले जिल्लाका केही स्थानलाई टिमुर खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्न लागेको बताएका छन् ।
टिमुरको उत्पादकत्व बढाउन र बजार विस्तार गर्न जिल्ला वन कार्यालय, उच्च मूल्य कृषि वस्तु विकास आयोजना र सुर्खेत उद्योग वाणिज्य सङ्घले विविध कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उच्च मूल्य कृषि वस्तु आयोजनाले गुणस्तरीय टिमुर सङ्कलन, व्यावसायिक कर्जा, नर्सरी र व्यवसायमैत्री वातावरणको व्यवस्था मिलाइदिएपछि कृषकको यसतर्फ थप आकर्षण बढेको हो । जिल्लालाई टिमुरखेतीको पकेट क्षेत्रको रुपमै विकास गर्न आधा दर्जन विभिन्न गैरसरकारी सङ्घसंस्थासमेत क्रियाशील छन् ।
सुर्खेतको धारापानी, मालारानी, मटेला रानीवास र गर्पनका करीब २० वढी समूहले उत्पादन गरेको ५ सय किलो टिमुर भारत हुँदै जर्मनी निर्यात भएको व्यापारीले बताएका छन् । स्थानीय बजारमा प्रतिकिलो ७ सयसम्ममा विक्री हुने टिमुर काठमाडौंस्थित फार्मिङ फर हेल्थ नामक संस्थामार्फत प्रतिकिलो १ हजार ५ सय रुपैयाँमा गाउँबाटै विक्री हुने गरेको छ । टिमुर विशेषगरी मसला तथा दन्तमञ्जनलगायत औषधिका रूपमा प्रयोग हुने गरेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत सूर्यप्रसाद शर्माले बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत ‘एक गाउँ एक उत्पादन’ कार्यक्रममार्फत सुर्खेत उद्योग वाणिज्य सङ्घले समेत टिमुरखेतीमा लगानी गरेको छ । पकेट क्षेत्रका कृषकको आवश्यकतालाई दृष्टिगत गरी विभिन्न सहयोगका कार्यक्रम सञ्चालन गर्दै आइरहेको सङ्घका अध्यक्ष प्रकाश अधिकारीले बताए ।