चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याक : राष्ट्रिय गौरवको आयोजना घोषणा हुँदै
May 24, 2018
 
प्रदेश समाचार
सुर्खेत । चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याक राष्ट्रिय गौरवको आयोजना घोषणा हुने भएको छ । सुर्खेतको चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट तथा कार्यक्रमबाट यो सडकलाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्न लागेको हो ।
सामरिक तथा व्यापारिक दृष्टिले महत्त्वपूर्ण मानिएको चिसापानी–गुटु–मङ्गलसेन फाष्ट ट्र्याकको दीर्घकालीन उद्देश्य भारत–नेपाल–चीन जोड्ने त्रिदेशीय सडक हुनु हो । ३ दशक पहिले नै केन्द्र सरकारले यो सडक निर्माणलाई प्राथमिकतामा राखे पनि यस क्षेत्रका बलियो जनप्रतिनिधि नहुँदा काम अघि नबढेको चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले बताए । देश सङ्घीयतामा गएसँगै निर्वाचित जनप्रतिनिधिको पहलले राष्ट्रिय गौरवको आयोजनाको रूपमा यसको निर्माण गर्न लागिएको हो ।
यसरी सम्भव भयो राष्ट्रिय गौरवको आयोजना
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका–नगरपालिकाले समेत राष्ट्रिय गौरवका आयोजना बनाउन सक्ने उल्लेख गरेपछि चौकुने गाउँपालिकाले यसको तयारी गरेको हो । मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेट सीमा निर्धारणको प्राथमिकताको पहिलो नम्बरमा स्थानीय तहका गौरवका आयोजनाका लागि आवश्यक बजेट छुट्याउनुपर्ने प्रावधान राखेको छ । गाउँपालिकाले उक्त आयोजनाका लागि सीमा जोडिएका अन्य छिमेकी जिल्लाका गाउँ तथा नगरपालिकासँग समेत समन्वय गरेर उक्त आयोजना सञ्चालनमा ल्याउनेछ । अपुग रकम प्रदेश तथा सङ्घीय सरकारसँग माग गरिने गाउँपालिकाका अध्यक्ष शाहीको भनाइ छ ।
स्थानीय जनताले ८ दशकदेखि कैलालीको चिसापानी–गुटुु–मङ्गलसेन–बाजुरा–हुँदै हुम्लाको हिल्सा सडक विस्तारको माग गर्दै आएको चौकुने गाउँपालिकाका अध्यक्ष शाहीले बताए ।