८ ओटा वितरण केन्द्रमार्फत झण्डै २ लाख ग्राहकमाझ विद्युत् सेवा
May 24, 2018
 
प्रदेश समाचार
धनगढी । विद्युत् उत्पादन क्षमताको हिसाबले प्रदेश नम्बर ७ अन्य ६ ओटा प्रदेशभन्दा बढी सम्भावना बोकेको प्रदेश हो । तर, विद्युत् उत्पादनका हिसाबले सबै प्रदेशभन्दा पछाडि परेको छ । सरकारीस्तरबाट ३० मेगावाट (मेवा)को चमेलिया प्रदेशकै एकमात्र आयोजना हो । यस प्रदेशमा ३० मेवा क्षमताको चमेलिया र निजीक्षेत्रबाट सञ्चालित ८ दशमलव ५ मेवा क्षमताको नौगाढ जलविद्युत् आयोजना सम्पन्न भएर राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ ।
नेपाल विद्युत् प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार प्रदेश नम्बर ७ का नौओटै जिल्लाहरूमा गरी ८ ओटा वितरण केन्द्रहरूमार्फत् विद्युत् वितरण गरेको छ । प्राधिकरणले यस प्रदेशमा झण्डै २ लाख ग्राहकलाई विद्युत् सेवा उपलब्ध गराउँदै आएको छ । प्रदेश विकासको दीर्घकालीन स्रोत नै ऊर्जा भएको अवस्थामा ऊर्जा विकासमा राज्यको लगानी नआउनाले प्रदेश पछाडि परेको नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश–७ का अध्यक्ष शङ्कर बोगटीले बताए ।
जलविद्युत् सम्भावनाको हिसाबले विश्वकै धनी देश भएर पनि राज्यले स्रोतको उचित उपयोग गर्न नसकेको निजीक्षेत्रको भनाइ छ । यस प्रदेशभित्र पञ्चेश्वर (६,८८० मेवा), पश्चिम सेती (७५० मेवा), टनकपुर ब्यारेज (१२० मेवा), सेती–१ (३५ मेवा), सेती–२ (७५ मेवा), बुढीगङ्गा (२० मेवा), माथिल्लो कर्णाली (३०० मेवा), चाइरवानजिक (६०० मेवा), मध्यकर्णाली (१६० मेवा), चिसापानी कर्णाली (१०,८०० मेवा) गरी झण्डै ३३ हजार मेवा विद्युत् उत्पादन सम्भावना बोकेका आयोजना छन् ।
पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाइएकोमा कार्यान्वयनको टुङ्गो नहुँदा आयोजना बन्नेमा ढुक्क हुने अवस्था नरहेको उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दिनेशराज भण्डारीले बताए । अहिलेसम्म ७ नम्बर प्रदेशका विभिन्न जिल्लामा गरी १३ ओटा जलविद्युत् आयोजनाले १ सय ३४ मेवा क्षमताका आयोजनाको सर्वे लाइसेन्स लिइसकेको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी गराए । उनका अनुसार, जसमध्ये २५ मेवाभन्दा माथिको एउटा तथा २५ मेवासम्मका १२ आयोजना रहेका छन् । प्रदेश–७ को पहाडी जिल्ला बझाङमा विभिन्न स्थानमा रहेका १ हजार २ सय ९० मेवा क्षमताका ठूला जलविद्युत् आयोजना निर्माण गरिँदै छन् ।
७ सय ५० मेवा क्षमताको पश्चिम सेती जलाशययुक्त जलविद्युत् आयोजनासहित निर्माण भैरहेका कलङ्गागाड १५ मेवा, अपर कलङ्गागाड ३८ दशमलव ४ मेवा र सानीगाड १० दशमलव ७ मेवालगायतका आयोजनाबाट ७० मेवाभन्दा बढी जलविद्युत् उत्पादनका लागि काम भइरहेको छ । १ सय ६५ मेवा क्षमताको सेतीनदी–३ जलविद्युत् आयोजनाको चिलिमे जलविद्युत् कम्पनीले अनुमति पाएको छ । २ सय १० मेवा क्षमताको चैनपुर सेती जलविद्युत् आयोजनाको लुक्ला सुर्के जलविद्युत् उपभोक्ता समूहले अध्ययन गरिरहेको छ । ८० मेवाको अपरसेती जलविद्युत् आयोजनाको सरकारले नै सर्वे गरिरहेको छ । २० मेवाको सुनीगाड र अपरसुनीगाड गरी बझाङमा अहिले ४ सय ७५ मेवा जलविद्युत् आयोजनाको सर्वे भएको हो ।
त्यस्तै, समृद्धि इनर्जी प्रालिले बझाङको काँडा क्षेत्रमा १ सय ४० मेवाको बझाङ अपरसेती जलविद्युत् आयोजनाको सर्वेक्षणका लागि अनुमति माग गरेको थियो । चमेलियाबाट विद्युत् उत्पादन शुरू भएपछि उक्त क्षेत्रमा थप २ सय ५० मेबा क्षमताका जलविद्युत् आयोजना निर्माण भइरहेका छन् । बझाङमा मात्रै १३ सय मेवा विद्युत् उत्पादन क्षमताका आयोजना निर्माण हुन लागेको यहाँको निजीक्षेत्रले बताएको छ । पछिल्लो समय ७ नम्बर प्रदेशबाट विद्युत् उत्पादन गर्ने भन्दै सरकारबाट लाइसेन्स लिने कम्पनीहरूको सङ्ख्या बढ्दै गएको छ ।