ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

किन घट्यो लघुवित्तको नाफा ? : तेस्रो त्रैमासमा आधाभन्दा बढी कम्पनीको घट्यो

May 27, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
काठमाडौं । चालू आवको तेस्रो त्रैमासमा सार्वजनिक भएका ३६ ओटा लघुवित्त कम्पनीको वित्तीय विवरण हेर्दा १७ ओटाको नाफा बढेको र १९ ओटा कम्पनीको नाफा घटेको देखिएको छ । यो अवधिमा वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले सबैभन्दा धेरै प्रतिशत नाफा कमाएको छ भने सबैभन्दा धेरै प्रतिशत नाफा घट्नेमा सपोर्ट माइक्रोफाइनान्स कम्पनी छ । नेपालका ग्रामीण भेगमा आर्थिक परिवर्तन ल्याउने उद्देश्यले स्थापित लघुवित्त कम्पनीमध्ये ३६ ओटा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत छन् । लघुवित्त कम्पनीले वाणिज्य बैङ्कहरूबाट ८ देखि १४ प्रतिशत ब्याजदरमा कर्जा पाउँछन् । उनीहरूले त्यसलाई १८ प्रतिशतसम्म ब्याजदरमा ग्राहकलाई कर्जा दिन पाउँछन् । वाणिज्य बैङ्कसँग १४ प्रतिशत ब्याजमा लिएर आफूले १८ प्रतिशतमा कर्जा दिँदा यसले खर्च धान्न नपुगेर नाफा घटेको लघुवित्त सङ्घका अध्यक्ष रामचन्द्र जोशी बताउँछन् । जोशीका अनुसार नेपाल राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई आफ्नो आधार दरभन्दा तलको ब्याजदरमा ऋण लगानी गर्न नपाउने निर्देशन दिएपछि लघुवित्तले पाउने कर्जाको ब्याज बढेको हो । वाणिज्य बैङ्कबाट पाउने कर्जाको ब्याजदर नघटेसम्म र लघुवित्तले लिन पाउने ब्याजदरमा लगाएको १८ प्रतिशतको सीमा नबढाएसम्म लघुवित्तको नाफा बढ्न नसक्ने उनको भनाइ छ ।

तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार वोमी माइक्रोफाइनान्सको नाफा गत आवको सोही अवधिको तुलनामा ८८ दशमलव ८० प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म रू. १ करोड ५६ लाख रहेको यो कम्पनीको नाफा चालू आवको तेस्रो त्रैमासमा बढेर रू. २ करोड ९५ लाख पुगेको छ । उसको नाफा बढ्नुमा रू. १३ लाख खराब कर्जा असुली, खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफामा वृद्धि मुख्य कारण हुन् । सिभिल लघुवित्तको नाफा गत आवको तुलनामा ८० प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमासमा रू. ४६ लाख १४ हजार आर्जन भएकोमा चालू आवको सोही अवधिमा रू. ८२ लाख ९४ हजार पुगेकोे छ । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाले कम्पनीको खुद नाफामा वृद्धि भएको हो । तर, १९ लघुवित्त कम्पनीको नाफा भने घटेको छ । यी कम्पनीको नाफा घट्नुमा समयमै खराब कर्जा उठाउन नसक्नु, ब्याज खर्च वृद्घि, सञ्चालन खर्च वृद्धि, कर्मचारी खर्च वृद्धिजस्ता प्रमुख कारण छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)