जेठ १४, धनगढी । ७ नं. प्रदेश सरकारको कार्यप्रगती सुस्त देखिएको छ । विभिन्न ऐन तथा नियमावली पारित हुन नसकेपछि प्रदेश सरकार गठनको एकसय दिन पुग्दा समेत कार्यप्रगतिले ठोस रुप दिन नसकेको मुख्यमन्त्री त्रिलोचन भट्टले बताए ।
प्रदेश सरकारको एकसय दिन पुगेको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमवार आयोजित उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा मुख्यमन्त्री भट्टले कानून, कर्मचारी र भौतिक पुर्वाधारको अभाव हुँदाहुँदै पनि प्रदेशको समृद्धि र विकासमा सरकार लागि परेको बताए । सङ्घीयताको जग बसाल्ने विषयप्रति प्रदेश सरकार बढी केन्द्रित भएकाले नागरिकलाई आभाष हुनेगरी अपेक्षित प्रगति नदेखिएको उनको भनाइ छ ।
यो अवधिमा प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४, कार्य सम्पादन नियमावली २०७४ र केही सार्वजनिक लिखित प्रमाणिकरण नियमावली २०७४, आचारसंहिता २०७४, श्वेतपत्रको सार्बजनिकरण, हेलो सिएम कार्यविधि २०७५, प्रदेश सञ्चितकोष सञ्चालन कार्यविधि २०७५, प्रदेश राजपत्रको सम्पादन तथा वेबसाइटमा प्रकाशन गर्ने सम्बन्धी कार्यविधि २०७४ नियमावली पारित भएको मुख्यमन्त्री भट्टले जानकारी गराए ।
कार्यक्रममा प्रदेश सरकारका प्रवक्ता प्रकाश बहादुर शाहले हाल सहमति प्रदान गर्न स्वीकृत भएका विषयहरुबारे जानकारी गराउँदै भने, ‘आकस्मिक कोष विधेयक २०७५, प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक सुविधाको व्यवस्था सम्बन्धमा विधेयकको मस्यौदा तर्जुमा गर्ने सहमति, प्रदेश विनियोजन विधेयक २०७५ तर्जुमाको सैद्धान्तिक सहमति र प्रदेश आर्थिक विधेयक २०७५ तर्जुमा गर्ने सहमतिका साथै प्रदेश कर तथा गैरकर लगाउने उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ तर्जुमा गर्ने सैद्धान्तिक सहमति भएको छ ।’
प्रवक्ता शाहका अनुसार प्रदेश आर्थिक कार्यविधि २०७४, विनियोजन विधेयक २०७५, प्रदेश सरकारको आ.व. २०७४÷७५ को नीति तथा कार्यक्रम, स्थानीय तहको कानून निर्माण गर्ने प्रक्रिया सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी विधेयक प्रदेशसभामा स्वीकृत भएका छन् ।
प्रदेश सरकारले एकसय दिन पूरा गरेको अवसरमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले प्रदेश सरकारले अपेक्षाकृत काम गर्न नसकेको प्रतिक्रिया दिए । प्रदेश ७ को समृद्धिका लागि सहयात्रीको भूमिका निर्वाह गरी जाने बताउँदै उनले प्रदेश सरकारले गरेका राम्रा कामको समर्थन र नराम्रा कामको विरोध गर्ने बताए ।