रौतहट । रौतहटका स्थानीय तहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छानबिन थालेको छ । सामाजिक सुरक्षा भत्ता, विकास निर्माण, पेश्कीलगायतका शीर्षकमा अनियमितता भएको उजुरीपछि अख्तियारले छानबिन थालेको हो ।
आयोगले परोहा, इशनाथ, गढीमाई, बौधीमाई, गरुडा नगरपालिका तथा जिल्ला समन्वय समिति, जिल्ला प्राविधिक कार्यालय, सिँचाइ, सडक तथा शिक्षा कार्यालयविरुद्ध परेका उजुरीहरूको छानबिन शुरू गरेको छ । अख्तियारको हेटौंडा कार्यालयको टोलीले आयोगमा परेको उजुरीको स्थलगत अध्ययन र छानबिन संलग्न छ ।
आयोगका प्रहरी निरीक्षक विनिमहादेव पौडेलसहितको टोलीले विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायतसँग सोधपुछ गरेको छ ।
केही दिनदेखि रौतहटको विभिन्न मुद्दाको विषयमा टोलीले छानबिन गरिरहेको छ । केही पुराना मुद्दाहरूको फाइल खोजेको र फाइल हराएको भनिएकासँग अख्तियारले बयान लिएको छ ।
स्थानीय तहको सामाजिक सुरक्षाभत्ता, विकास निर्माणको कामको पेश्की लिएर फछ्र्योट नगर्ने, विद्यालय भवन निर्माणमा अनियमितता भएको उजुरीको जवाफ माग गर्दा बेवास्ता गरेकाले त्यसको छानबिनका लागि कागजपत्र खोजी गरिएको आयोगको हेटौंडा कार्यालय प्रमुख श्यामराज अधिकारीले बताए । उनका अनुसार केही नगरपालिकाले गत साउनको बाढीले कागजपत्र डुबानमा परी नष्ट भएको जानकारी दिएका छन् ।