धनगढी । प्रदेश नम्बर ७ मा नवीकरणीय ऊर्जा कार्यक्रम सञ्चालनमा आएको छ । नेपाल सरकार र जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड)को साझेदारीमा ग्रामीण क्षेत्रका लागि कार्यक्रम सञ्चालनमा आएको हो । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि जर्मन राजदूत रोलाण्ड शेफरले बुधवार धनगढीमा कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गरेका हुन् ।
सन् २०१९ सम्म कार्यअवधि रहेको उक्त कार्यक्रम सम्पन्न गर्न बीएमजेडको ५० करोड रुपैयाँ सहयोग रहेको नेपालका लागि जर्मन राजदूत रोलाण्ड शेफरले जानकारी गराए । उनले नेपालको सङ्घीय प्रणालीमा स्थानीय सहयोग अभिवृद्धि गर्न नवीकरणीय ऊर्जाको कुशल र प्रभावकारी सेवा वितरण सुनिश्चित गर्नु कार्यक्रमको लक्ष्य रहेको बताए ।
कार्यक्रमबाट सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका लागि सहभागितामूलक मागमा आधारित नवकरणीय ऊर्जाको प्रवद्र्धनमा आवश्यक ढाँचा र संयन्त्रमा सुधार गर्ने मुख्य उद्देश्य रहेको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले बताए । धितालले प्रस्तुत गरेको कार्यपत्रअनुसार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले लघु तथा जलविद्युत् र सुधारिएको घट्ट गरी १० मेगावाटसम्मको ऊर्जा उत्पादन गर्दै आएको छ । कार्यक्रमले यस क्षेत्रमा नवीकरणीय ऊर्जाको पहुँच बढाउन सरोकारवाला, निजीक्षेत्र, वित्तीय संस्था र नागरिक समाजसँग आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गरिने आयोजक संस्थाले बताएको छ ।