सुर्खेत । कर्णालीलाई तत्काल उज्यालो बनाउन वैकल्पिक ऊर्जा सबैभन्दा उत्तम माध्यम रहेको बताइएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले हालै वीरेन्द्रनगरमा आयोजना गरेको नवीकरणीय ऊर्जा प्रवद्र्धनमा प्रदेश सरकारको भूमिकासम्बन्धी कार्यशाला गोष्ठीमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ठूला जलविद्युत् आयोजना निर्माण नहुन्जेलसम्मका लागि कर्णाली प्रदेशमा विद्युतीकरणको एकमात्र विकल्प वैकल्पिक ऊर्जा रहेको बताए ।
उनले राष्ट्रिय विद्युत् प्रसारण लाइन नपुगेको कर्णालीमा वैकल्पिक ऊर्जाको विशेष कार्यक्रम सञ्चालन गर्न केन्द्रलाई आग्रह गरे । उनले भने, ‘वैकल्पिक ऊर्जाको प्रयोगमार्फत खानेपानी, सिँचाइ र विद्युतीकरणका समस्या हल गर्न र कृषि उत्पादकत्व वृद्धि गर्न टेवा पुग्नेछ ।’ उनका अनुसार जनताको तत्काल समस्या हल गर्नका लागि प्रदेश सरकार वैकल्पिक ऊर्जामा लगानी गर्न तयार छ ।
उनले प्रदेश राजधानी सुर्खेतमै तत्काल १ मेगावाटको सोलार प्लाण्ट निर्माण गर्न पनि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँग आग्रह गरे । प्रदेश राजधानीमा विद्युत् आपूर्तिमा भएको समस्याले प्रदेश सरकारको कार्यसम्पादनमा पनि समस्या पैदा भएको उनको भनाइ थियो । उनले तत्काल प्रदेश सभा र मन्त्रालयमा सौर्य विद्युत् प्रणालीको स्थापना गरी समस्या सामाधान गरिदिन केन्द्रसँग आग्रह गरे ।
कार्यक्रममा कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाही, नेपाली काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, पूर्वमन्त्री एवम् सांसद यमलाल कँडेल र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताललगायतले आआफ्नो धारणा राखेका थिए ।