काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १२ कक्षासम्मका लागि ल्याएको परिमार्जित राष्ट्रिय पाठ्यक्रमको कार्यान्वयनमा चुनौती हुने देखिएको छ । व्यावहारिक शिक्षा अहिलेको आवश्यकता भए पनि यसको कार्यान्वयन चुनौतीपूर्ण भएको प्राध्यापक, शिक्षाविद् र सरोकारवालाहरूले औंल्याएका छन् ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूपमाथि सुझाव पेश गरेका शिक्षाविद् विद्यानाथ कोइरालाले विद्यालय शिक्षाका लागि तोकिएका पाठ्यपुस्तक सैद्धान्तिक रूपमा ठीक भएको प्रतिक्रिया दिए । ‘यद्यपि, यसको व्यावहारिक कार्यान्वयनमा ठूलो चुनौती छ,’ उनले भने । सो पाठ्यक्रममा रहेर अध्यापन गर्ने गुणस्तरीय शिक्षक नभएको उनले बताए । सामुदायिक विद्यालयको विद्यमान शैक्षिक गुणस्तरतर्फ सङ्केत गर्दै उनले अब व्यावसायिक पाठ्यक्रम पढाउने योग्य शिक्षक अभाव औंल्याएका हुन् । ‘कक्षा ११ र १२ मा जीवनोपयोगी शिक्षा जरुरी छ,’ उनले भने, ‘तर यस्ता विषय कसरी पढाउने भनेर सुझाव मागिएकोमा केन्द्रबाट कुनै उत्तर आएको छैन ।’
विश्वविद्यालयमा आधारित शिक्षा खारेज भएसिछ कक्षा ११ र १२ मा व्यावहारिक शिक्षा आवश्यक भएको टेक्सास कलेजका पूर्वप्रधानाध्यापक तथा पाणिनी एजुकेशन नेटवर्कका अध्यक्ष कर्णबहादुर शाहीले बताए । विगतको विद्यालय शिक्षा शीपमूलक नभएकाले अब शीपमा आधारित बनाउनुपर्ने तर्क उनले गरे । परम्परागत शैक्षिक प्रणाली परिवर्तन गर्दै व्यवहारमुखी बनाउने क्रममा विभिन्न समस्या आउनु स्वाभाविक भएको उनको भनाइ छ । अबको विद्यालय शिक्षा अन्तरराष्ट्रियस्तरको बनाइएकाले परीक्षामुखीभन्दा पनि शीपमूलक हुने अपेक्षा उनले गरे ।
कक्षा ११ र १२ का लागि साधारण शिक्षा, प्राविधिक तथा व्यावसायिक धार र संस्कृत शिक्षा तोकिएको छ । साथै, परम्परागत धार्मिक शिक्षा समूहअन्तर्गत गुरुकुल, गोन्पा र मदरसा शिक्षाको व्यवस्था गरिएको छ । विषय छनोटका लागि मातृभाषा र स्थानीय विषयको पाठ्यक्रम तथा पाठ्यसामग्री प्रदेश र स्थानीय तहको सहयोगमा विद्यालय आफैले निर्माण गर्न सक्ने व्यवस्थासमेत केन्द्रले गरेको छ । अन्य विषय पाठ्यक्रम विकास केन्द्रले तयार गर्दै जाने उल्लेख छ ।
सरकारले प्लस टूको खारेज गरेसँगै कक्षा ११ र १२ माध्यमिक तहमा गणना भएको छ । योसँगै पाठ्यक्रममा समेत परिमार्जन हुँदै छ । यसअघि विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षालगायत सङ्कायमा आधारित पाठ्यक्रम पढाइ हुँदै आएको थियो । अब सो प्रणाली नै खारेज भएको छ ।
पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा सातओटा विषयलाई प्राथमिकतामा राख्ने भएको छ । अब नेपाली, अङ्ग्रेजी, जीवनोपयोगी शिक्षा, सामाजिक र तीनओटा ऐच्छिक विषय रहनेछन् । ऐच्छिक विषयमा भने लेखा तथा व्यवस्थापन, अर्थशास्त्र, व्यवसाय, विज्ञानलगायत करीब १ सय ५० ओटा विषय समावेश हुने पाठ्यक्रम विकास केन्द्रका डेपुटी निर्देशक तथा सूचना अधिकृत खुबीराम अधिकारीले जानकारी दिए । उनका अनुसार यसअघि पनि १ सय ५० ओटा नै ऐच्छिक विषय छनोटमा थिए, तर अनिवार्य विषय भने फरक छन् । विद्यालयले आफ्नो क्षमता, अनुकूलता, बिकाउ, प्रभावकारिता लगायतलाई ध्यानमा राखेर ऐच्छिक विषय अध्यापन गर्न सक्ने उनको भनाइ छ । ‘२०७३ पुसदेखि शुरू गरिएको प्रारूप मस्यौदा निर्माणका क्रममा विशेषज्ञ एवम् विज्ञहरूको सल्लाह सुझाव र प्रतिक्रिया समेटिसकेका छौं,’ उनले भने, ‘अहिले थप प्रक्रियामा अघि बढेका छौं ।’
विद्यार्थी केन्द्रित र बालमैत्री शिक्षण विधि अपनाई शिक्षणमा भन्दा निरन्तर सिकाइमा जोड दिनुपर्ने मस्यौदामा उल्लेख छ । यसका लागि विद्यार्थीको सहभागितामा योजना निर्माण, परियोजना कार्य, क्षेत्र भ्रमण, समस्या समाधान, आविष्कारमुखी अध्ययन तथा प्रवर्तनमुखी शिक्षणपद्धति अपनाउनुपर्ने भनिएको छ ।
प्रस्तावित पाठ्यक्रमबाट मुलुकको आर्थिक, सामाजिक रूपान्तरणका निम्ति आवश्यक स्वावलम्बी, शीपयुक्त, चरित्रवान् जनशक्ति उत्पादन हुने विश्वास केन्द्रले लिएको छ । विश्वव्यापी चेतनासहित राष्ट्रिय आवश्यकता पूरा गर्न आवश्यक जनशक्ति निर्माण गर्नेगरी पाठ्यक्रम तयार गर्न लागिएको केन्द्रले बताएको छ ।