धनगढी । वनको दिगो रूपमा सुधारका लागि वन पैदावार (काठदाउरा) को उत्पादन गरी आपूर्तिलाई सहज गर्ने उद्देश्यले कैलालीमा वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत ९ सय रूख काटिँदै छन् । कुल २ हजार ३ सय ३१ हेक्टर वन क्षेत्र रहेको बाह्रवन साझेदारी वन व्यवस्थापन समूहले चालू आर्थिक वर्षमा ९ सय ४ रूख कटानी गरी १ लाख ५७ हजार ५ सय ९५ क्युफिट काठ तथा २ सय ९४ दशमलव ४९ चट्टा दाउरा उत्पादन गर्दै छ ।
वैज्ञानिक वन व्यवस्थापन गर्ने वनलाई ८० खण्डमा विभाजन गरी वर्षेनि प्रत्येक खण्डमा प्रतिहेक्टर १५ देखि २५ ओटा माउरूख छोडेर अन्य पोल तथा रूखहरू काट्न शुरू गरिएको छ । संरक्षित वेटन वन सम्वर्द्धन प्रणालीअन्तर्गत कटान गरिएको प्लाण्टमा रहेका हाँगाविगा, बोक्रा, चोइटा÷चोइटी सफा गरी तारवार समेत गरिएको हो ।
कुल २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र रहेको कैलालीमा १९ ओटा वनको वैज्ञानिक वन व्यवस्थापनको अवधारणाअनुरूप कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा गइसकेको जिल्ला वन कार्यालय कैलालीका वन अधिकृत नवराज काफ्लेले जानकारी गराए । उनका अनुसार चालू आवको वैशाख मसान्तसम्ममा मात्रै १४ ओटा सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो । प्रस्तावित जिल्लाको भारताल साझेदारी वनलाई चालू आवको असारमसान्तभित्रै वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत ल्याउन कार्ययोजनाको तयारी भइरहेको काफ्लेले बताए ।
तराई र भावर क्षेत्रमा गरी जिल्लामा १ हजार ९ सय ३१ दशमलव ३० वर्गकिलोमिटर तथा चुरे क्षेत्रमा रहेको वन क्षेत्र १ हजार ३ सय ३ दशमलव ७ वर्गकिलोमिटर रहेकोमा सबै वन क्षेत्रलाई वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत समेट्न आवश्यक गृहकार्य भइरहेको जिल्ला वन कार्यालय कैलालीले बताएको छ । वनको उचित व्यवस्थापन गर्न नसकिएकै कारण अहिलेसम्म जिल्लामा २० हजार ५ सय हेक्टरभन्दा बढी वन क्षेत्र व्यक्ति विशेष, मुक्त कमैयाँ, सुकुमबासी, बाढीपीडित, संस्थागतलगायत कारण अतिक्रमण भइसकेको तथ्याङ्क जिल्ला वनको छ ।