‘कर्णाली–रारा पर्यटन वर्ष’ को खर्च विवरण सार्वजनिक
Jun 10, 2018
 
प्रदेश समाचार
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष’को खर्च विवरण शुक्रवार सार्वजनिक गरेको छ । प्रतिपक्ष दलका सांसदले बिहीवार कर्णाली रारा पर्यटन वर्षको खर्च र चालू आर्थिक वर्षको रातो किताब नआउनुको कारण माग गर्दै संसद् अवरुद्ध गरेपछि खर्च सार्वजनिक भएको हो ।
प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले पर्यटन वर्षमा भएको सम्पूर्ण खर्च विवरण संसद्बाटै सार्वजनिक गरे । उनले पर्यटन वर्षको शुभारम्भमा ६३ लाख ८१ हजार रुपैयाँ खर्च भएको बताए । उनका अनुसार प्रदेश सरकारबाट ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट १४ लाख ४० हजार बजेट प्राप्त भएको थियो ।
‘खर्च विवरण सार्वजनिक तत्काल गर्न नसक्नु सरकारको कमजोरी भएकै हो,’ उनले भने, ‘पर्यटन वर्ष शुभारम्भ लगत्तै नीति तथा कार्यक्रम र बजेट निर्माणमा व्यस्त हुनु परेकाले सार्वजनिक गर्न ढिलाइ भएको हो ।’ मितव्ययिता र आर्थिक अनुशासन सरकारको प्राथमिकतामा रहेको दाबी गर्दै उनले पर्यटन वर्ष शुभारम्भ भएसँगै रारा र कर्णालीका अन्य पर्यटकीय स्थलमा पर्यटकको आगमन बढेको बताए ।
उनले छोटो समयका लागि ल्याइएको बजेट कार्यान्वयन हुने अवस्था नआएपछि रातो किताब नछापेको जानकारी दिए । बैठकमा प्रतिपक्षले राखेको विषयमाथि जवाफ दिँदै ज्वालाले असारपछि बजेट कार्यान्वयन नहुने अवस्था देखिएपछि किताब नल्याएको दाबी गरे ।