ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूँजीबजारमा महिला लगानीकर्ता

Jun 10, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा
काठमाडौं । पछिल्लो समय शेयरबजारमा महिलाको आकर्षण बढ्दै गएको पाइएको छ । हरेक कम्पनीको साधारणसभादेखि ब्रोकर कार्यालयसम्म महिलाको सहभागिता बढ्दो छ । केही वर्ष अघिसम्म महिलाहरू प्राथमिक बजारमा मात्र आकर्षित हुने गरेकोमा हाल दोस्रोे बजारमा पनि उनीहरूको उत्साहजनक उपस्थित देखिन थालेको छ । विशेषगरी परिवारका सदस्य वैदेशिक रोजगारमा रहेका महिलाले उनीहरूको कमाइ (विप्रेषण) शेयरमा लगानी गरिरहेको पूँजीबजारबारे प्रशिक्षण दिँदै आएका सन्तोषराज बजगाईंले बताए । पढेलेखेका र जागीरे महिला मात्र नभएर गृहिणीहरू समेत दोस्रो बजारमा आउन थालेको उनको भनाइ छ । यस्तै, आफ्नो कारोबारको २० देखि २५ प्रतिशत महिला हुने गरेको ब्रोकर कम्पनीहरू बताउँछन् । श्वेता सेक्युरिटिजकी अध्यक्ष सुचिता खनाल घरजग्गामा खरीदमा जस्तै धितोपत्र कारोबारमा पनि महिलालाई छूटको व्यवस्था भइदिए यसमा उनीहरूको सहभागिता अझै बढ्ने विश्वास गर्छिन् । पूँजीबजारमा महिलाले आफ्नो लगानी कसरी सुरक्षित गर्छन् त ? केही महिलाको अनुभव : बबी शेरचन बबी शेरचन २०६५ सालदेखि पूँजीबजारमा संलग्न छिन् । २५ हजार लगानी गरी शेयरबजार प्रवेश गरेकी शेरचनले अहिले आफ्नो पूँजी २ करोड पुगेको बताइन् । शेयर बजारमा बुझेर मात्र लगानी गर्न उनले महिलालाई सुझाइन् । आफूसँग भएको पूँजीमध्ये शेयर बजारमा सबै लगानी गर्न नहुने उनको अनुभव छ । उनका अनुसार केही रकम आफैसँग राख्नुपर्छ । बजार अवस्था राम्ररी नबुझी भएको पूरै पूँजी शेयरमा लगानी गर्नेहरू अहिले पछुताएको उनको भनाइ छ । उनले शेयर बजारबाट भएको आम्दानीबाट घरखर्च चलाउने गरेकी छिन् । साथै, यही आम्दानीबाट एक महिलालाई आप्mनो सहयोगीका रूपमा राख्न पनि पुगेको उनले सुनाइन् । सन्ध्या रायमाझी विगत ५ वर्षदेखि शेयरबजारमा आबद्ध सन्ध्या रायमाझीले रकम बैङ्कमा राख्नुको सट्टा शेयर बजारमा लगानी गर्ने बताइन् । अहिले गरेको लगानी बुढेसकालको सहारा हुने उनको बुझाइ छ । लगानीमा नयाँपन महसूस ल्याउन उनले छोराछोरीको जन्मदिनमा उनीहरूको नाममा शेयर किन्ने गरेको अनुभव सुनाइन् । फुर्सदको समय घरमै बस्नुभन्दा शेयरबजारबारे बुझ्न गृहिणी महिलालाई उनको अनुरोध छ । फुर्सदको टीभीमा सिरियल हेरेर बिताउनुभन्दा शेयरबजारलाई बुझेर लगानी गर्न सके आर्थिक रूपमा आत्मनिर्भर हुन सकिने उनले बताइन् । बिन्दु अर्याल अन्तरराष्ट्रिय बजारमा शेयरको माहोल देखेर नेपालको पूँजी बजारमा प्रवेश गरेकी बिन्दु अर्याल अहिले बजारमा आएको लाभकरको अन्योलले असन्तुष्ट छिन् । आफूले लगानी शुरू गर्दाको समय बजार सुधारिएको अवस्थामा रहेकाले केही नाफा कमाए पनि अहिले बजार घटेकाले थोरै घाटामै रहेको उनले बताइन् । अन्तरराष्ट्रिय बजारमा समस्या देखिए तत्कालै सम्बन्धित निकायबाट सुधारात्मक पहल हुने गरेकाले नेपालको जस्तो घाटा त्यहाँका लगानीकर्ताले बेहोर्नुनपरेको उनको बुझाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)