शेयरबजारमा पूँजीगत लाभकरको सट्टा कारोबार कर लगाउन माग
Jun 10, 2018
 
लगानी
काठमाडौं । शेयर कारोबारमा लाग्दै आएको पूँजीगत लाभकर गणना विधि सरकारले परिवर्तन गर्दा असन्तुष्ट भएर आन्दोलन गरेका लगानीकर्ताले पूँजीगत लाभकरको सट्टा कारोबार कर लगाउन उपयुक्त हुने सुझाएका छन् । यसअघि व्यक्तिगत लगानीकर्ताबाट ५ प्रतिशत र संस्थागत लगानीकर्ताबाट १० प्रतिशतको दरले पूँजीगत लाभकर उठाइरहेको सरकारले त्यसलाई बढाएर व्यक्तिगततर्फ ७ दशमलव ५ र संस्थागततर्फ १५ प्रतिशत पुर्याएको छ ।
पूँजीगत लाभकरको दरमा भएको वृद्धिको खासै विरोध नगरेका लगानीकर्ताले त्यसको गणना गर्ने नयाँ विधिको भने चर्को विरोध गरे र १ दिन पूरै तथा अर्को दिन आधा समय शेयरबजार ठप्प पारे । हाललाई नयाँ गणना विधि स्थगित गरिएको छ । शेयरबजारमा अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकारका लगानीकर्ता रहेकाले करको दर पनि सोहीबमोजिम फरक हुनुपर्ने माग लगानीकर्ता छ । दीर्घकालीन लगानीकर्ताले कुनै पनि कम्पनीको शेयर किनेपछि कम्तीमा १ वर्ष होल्ड गर्छन् । अल्पकालीन लगानीकर्ताले भने शेयर खरीद गरेकै दिन वा महीनाभित्र विक्री गर्दछन् । यस्ता लगानीकर्तालाई सट्टेबाज पनि भनिन्छ । पूँजीगत लाभकर र कारोबारबारे केही लगानीकर्ताको भनाइ :
नवराज सुवेदीअध्यक्ष, नेपाल पूँजीबजार लगानीकर्ता सङ्घ
सरकारले अल्पकालीन र दीर्घकालीन गरी दुई प्रकारमा लगानीकर्ताको विभाजन गरिदिनुपर्छ । यसो हुँदा बजारमा अनावश्यक चलखेल रोकिनुका साथै स्वस्थ कारोबार हुन्छ । हाल दुवै प्रकारका लगानीकर्ताकै लागि एकै प्रकारको कर प्रणाली भएकाले पनि हाम्रो बजारमा बढी उतारचढाव देखिन्छ । त्यसैले, अन्तरराष्ट्रिय अभ्यासअनुसार पनि आगामी दिन दीर्घकालीन लगानीकर्तालाई करमा सहुलियत दिने र अल्पकालीन लगानीकर्तालाई पनि कारोबारमा तिरेको कर नै अन्तिम कर हुने व्यवस्था गर्नुपर्छ ।
ज्योति दाहाल, लगानीकर्ता
पूँजीगत तय गरेको लाभकर गणनामा समस्या हुन्छ किनभने, यसको विधि निकै जटिल हुन्छ । कुनै कारोबार (नाफा भएको अवस्था)मा कर आउँछ भने कुनै कारोबारमा केही पनि कर नआउन सक्छ । यसको सट्टा कारोबारको आधारमा लाभकर लगाउँदा गणना सजिलो हुन्छ र प्रत्येक कारोबारबाट सरकारले केही न केही रकम प्राप्त गर्छ । यस विधिमा शेयर हकप्रद, बोनस वा आईपीओ हो कि दोस्रो बजारबाट खरीद गरेको हो भनेर छुट्याउनुपर्ने झन्झट हुँदैन । जुनसुकै शेयर बेच्दा पनि कारोबार रकममा निश्चित दर लगाइन्छ । र, यस्तो दर निकै न्यून हुन्छ । तैपनि हरेक कारोबारबाट उठ्ने भएकाले कुल कर ठूलो हुन्छ । जस्तै– १ सय कित्ता शेयर ५ सयमा बेचियो भने ५० हजार रकमको कारोबार भयो । त्यसमा शून्य दशमलव शून्य २ वा शून्य दशमलव शून्य २५ जस्तो न्यून दरले कर लगाइन्छ । लाभ भयो÷भएन हेरिन्न, कारोबार भएपछि पुग्यो । यस्तो सरल विधितर्फ सरकारको ध्यान जान जरुरी देख्छु ।
ताराप्रसाद फुल्लेलउपाध्यक्ष, शेयर लगानीकर्ता सङ्घ
दीर्घकालीन लगानीकर्ताका लागि लगाइएको ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर घटाउनुपर्छ । कारोबारको आधारमा यस्तो लाभकर तोक्नुपर्छ र यो नै अन्तिम कर हो भनेर सरकारले खुलाउन जरुरी छ । कति समय होल्ड भएकालाई दीर्घकालीन लगानीकर्ता मान्ने भनेर छ्ट्याउन समय अवधि तोकेर पूँजीगत लाभकर लगाउनुपर्छ । जस्तै– ५ वर्ष लगानी गर्ने लगानीकर्ताका लागि एउटा दरको कर र किनेको केही दिनमै विक्रीमा आउने शेयरका लागि बढी दरको कर लाउने व्यवस्था गरेमा पूँजीबजार उकालो लाग्न सक्छ । दीर्घकालीन लगानीकर्तालाई लाभकरमा छूट गरियो भने नयाँ लागनीकर्ता पूँजीबजारमा आउँथे । लगानीकर्ताले छोटो समयका लागि भन्दा पनि लामो समयका लागि लगानी गर्थे र बजारमा आकस्मिक रूपमा ठूलो उतारचढाव आउँदैनथ्यो ।