पर्वत । कुश्मा नगरपालिका–३ मा सञ्चालित क्यानोनिङ अर्थात छाँगारोहणले वैधानिकता पाएको छ । जिल्ला प्रशासन कार्यालयले हालै वैधानिकता दिएको हो । ३ महीनाअगाडि परीक्षणका रूपमा सञ्चालनमा आए पनि वैधानिक रूपमा सञ्चालनमा थिएन । वैधानिकता पाएसँगै आगामी आर्थिक वर्षदेखि यसलाई बृहत् रूपमा सञ्चालनमा ल्याउने तयारीमा रहेको सामुदायिक विकास केन्द्र वाटर क्यानोनिङका उपाध्यक्ष खड्गबहादुर गुरुङले बताए । ‘अन्य यस्ता व्यावसायिक क्षेत्रले स्थानीयस्तरबाट मात्रै अनुमति लिएका छन्,’ गुरुङले भने, ‘हामीले यस्तो खेल शुरू गरेको जानकारी पर्यटन बोर्डमा पनि दिएका छौं । यसको सञ्चालनपूर्व खेलाडीको बीमा पनि गरिँदै छ । अचानक दुर्घटना भएमा हेलिकोप्टरबाट उद्धार गर्ने व्यवस्था मिलाउने तयारी भएको उनले जानकारी दिए ।
आन्तरिक तथा बा≈य पर्यटक भिœयाउने उद्देश्यले वाटर क्यानोनिङ सञ्चालनमा ल्याएको अभियानकर्ता स्थानीय गोलमान गुरुङले जानकारी दिए । ‘व्यावसायिक क्यानोनिङले पर्यटन क्षेत्रमा ठूलो सम्भावना देखियो,’ गुरुङले भने, ‘पर्वतमा पर्यटनको विकास गर्ने एउटा कदमको रूपमा हामीले यो अभियानलाई लिएका छौं ।’
महाभीर खोलामा क्यानोनिङ सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्पजस्तै साहसिक पर्यटकीय गतिविधिका रूपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गरी धवलागिरिमै पहिलोपटक क्यानोनिङ सञ्चालन गरिएको सामुदायिक विकास केन्द्रका अध्यक्ष उद्धिमबहादुर गुरुङले जानकारी दिए ।
सदरमुकाम कुश्माबजारबाट सात किलोमिटर दूरीमा रहेको गुरुङ बाहुल्य बस्तीमा रहेको यो खोलामा क्यानोनिङ सञ्चालनमा आएपछि स्थानीय खुशी भएका छन् । स्थानीय चनौटेमा होम स्टे सञ्चालन र महभीर खोलामा क्यानोनिङ एकैपटक शुरू गरिएको अध्यक्ष गुरुङले बताए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ ।
नेपालका लमजुङ, कास्की, काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोटलगायत जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ सञ्चालन हुँदै छ । क्यानोनिङका लागि आवश्यक पूर्वाधार तथा तयारीका लागि १२ लाख रुपैयाँ खर्च गरिएको छ । क्यानोनिङ सञ्चालनका लागि बेलायत र हङ्कङमा रहेका दुर्लुङवासीले पहल गर्दै आएका थिए । आधा दर्जनस्थानमा क्यानोनिङ गरिसकेकी सम्झना कार्कीले अन्यत्रभन्दा महाभीर झरनामा क्यानोनिङ गर्दा निकै रमाइलो र आनन्दमय भएको बताइन् । यो झरनामा १ सय १० मिटर क्यानोनिङ गर्न सकिन्छ ।