पर्वत । कृषकलाई व्यवसायमा आकर्षित गर्न अनुदान वितरण गरिएको छ । जिल्लाको जलजला गाउँपालिकाका व्यवसाय उन्मुख कृषकलाई २१ लाख रुपैयाँबराबरको अनुदान वितरण गरिएको हो । गाउँपालिकाको पशुसेवा शाखाले व्यावसायिक गाईभैंसी, बाख्रा र कुखुरापालनमा कृषकलाई आकर्षित गरी मासु, दूध र अण्डाको उत्पादन वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले अनुदान वितरण गरेको हो ।
विभिन्न कार्यक्रमअन्तर्गत ५२ जना कृषकलाई अनुदानका लागि छनोट गरी वितरण गरिएको पशुसेवा शाखाप्रमुख पशु चिकित्सक विमल शर्माले बताए । युवा लक्षित कार्यक्रमअन्तर्गत जलजला–७ का सूर्यबहादुर क्षेत्री र मल्लाजका नवीन कार्कीलाई बाख्रापालनका लागि १÷१ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
बाख्राको खोर सुधारका लागि २५ हजार रुपैयाँका दरले अनुदान पाउनेमा धाइरीङका मनबहादुर क्षेत्री, मल्लाजकी कोपिला जीसी, बाँसखर्कका रेशमबहादुर घले, नाग्लीवाङका हिमबहादुर थापा र शालीजाकी डिलकुमारी पुन रहेका छन् ।
युवालक्षित भैंसीपालनमा मिलनचोकका ज्ञानेश्वर आचार्य र धाइरिङका तिलकप्रसाद आचार्यले एक–एक लाख, गोठ सुधारका लागि नाग्लीवाङका तोपबहादुर क्षेत्री, धाइरिङका रामप्रसाद उपाध्याय, मल्लाजकी शोभा उपाध्याय, गङ्गाधर आचार्य र गण्डकी गौशालाले २५ हजार रुपैयाँका दरले अनुदान पाएका छन् ।
अण्डा आत्मनिर्भर कार्यक्रमअन्तर्गत मल्लाजकी अम्बिका गुरुङ, लेकफाँटकी कोपिला जीसी, शालीजाका चन्द्रबहादुर चोचाङ्गी, शालीजाका डिलबहादुर पुर्जा र नाग्लीवाङका कर्णबहादुर क्षेत्रीले ३० हजारका दरले अनुदान पाएको शाखाका प्राविधिक नारायण आचार्यले जानकारी दिए ।
वारीबेनीको थापा फ्रेस हाउसकी जुना थापा र बनौको आकाश फ्रेस हाउसका निलबहादुर गर्बुजाले मासु पसल सुधारका लागि २० हजारका दरले अनुदान पाएका छन् । शालीजाका लालबीर पुनलाई बङ्गुर खोर निर्माण गर्न २० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
जलजला गाउँपालिका–२ ओखरबोट र ४ फड्केढुङ्गामा १०/१० जनालाई समेटेर बाख्रा प्याकेज कार्यक्रम सञ्चालन भएको छ । खोर सुधारका लागि प्रतिकृषक २ हजार ५ सय, बाख्रा खरीद गर्न ५ हजार र समूहमा एउटा प्रजननयोग्य बोका खरीद गर्न १५ हजारका दरले उपलब्ध गराइएको छ ।
प्याकेज लागू भएको समूहका कृषकलाई निःशुल्क भ्याक्सिन, भिटामिन, हिउँदे तथा बर्खे घाँसको बीउ उपलब्ध गराइने भएको छ । गाई प्याकेज कार्यक्रमअन्तर्गत मिलनचोक दुग्ध व्यवसायी समितिका पाँजनालाई उन्नत जातका गाई खरीद गरी ढुवानीका लागि ५ हजारका दरले सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ ।