सानो उमेरमै दुवै आँखाको ज्योति गुमाएका दीपक प्रधानको अन्तरदृष्टि भने उच्च कोटीको छ । उनी शेयर बजारलाई स्पष्टसँग बुझ्ने क्षमता राख्छन् । किनभने, २०६५ सालदेखि शेयर बजारमा आएका उनी यसबाट आफ्नो भविष्य सुनिश्चित हुनेमा पूर्ण विश्वस्त छन् ।
२०४३ चैत ३ गते रामेछापमा जन्मेका दीपक हाल काठमाडौं महानगरपालिका–३२, (पालकोट टोल) कोटेश्वरमा बस्दै आएका छन् । ९ वर्षमै दृष्टिविहीन हुन पुगेका उनले ब्रेललिपिको माध्यमबाट शिक्षा सङ्कायमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् ।
जन्मदै दुवै आँखामा समस्या भएका दीपक एउटा आँखाले थोरै देखे पनि अर्को आँखाले भने पूरै देख्दैनथे । नदेख्ने आँखाको उपचारका लागि काठमाडौंमा आएका उनको देख्ने आँखाकै अप्रेशन गरिएछ । डाक्टरको लापरबाहीले नै आफू दृष्टिविहीन बन्न पुगेको तीतो अनुभव छ उनको । ‘दृष्टिविहीन भए पनि भविष्य उज्ज्वल बनाउन चाहन्थेँ,’ उनी भन्छन्, ‘आँखाले नदेखे पनि शिक्षाले देख्न सकिन्छ भन्ने मान्यताले निकै दुःख र परिश्रमका साथ पढाइ पूरा गरेको हुँ ।’
दीपक परिवारको जेठो सन्तान हुन् । सेनामा कार्यरत उनका बुबा उनलाई सेनाको उच्च अधिकारी भएको हेर्न चाहन्थे । ‘तर त्यो सम्भव भएन,’ लामो श्वास छोडेर उनी सँगै बसेकी आमालाई हेर्दै भन्छन्, ‘चिन्ता नगर है आमा । चिन्ताले त चितामा पु¥याउँछ ।’ यसो भन्दा उनको आमाको आँखामा आँसु देखिन्छ । आफ्नो वेदना लुकाउँदै उनले छोराको मनको घाउमा मल्हमपट्टी लगाउँदै आएकी छिन् । उनी भन्छिन्, ‘पहिलापहिला त कत्ति रोएँ ।’ आमाले यो भनिनसक्दै दीपक थप्छन्, ‘त्यही भएर तिम्रो आँसु सुकेको होला है आमा ? आजकल त रुँदैनौ !’ छोराको कुरा सुनेर उनी मुस्कुराउँदै भन्छिन्, ‘अहिले त अरू पनि धेरै दृष्टिविहीन देख्छु, अनि मलाई मात्र परेको समस्या होइन रहेछ भनेर चित्त बुझाउँछु । तर पनि मेरो शेषपछि के होला भन्ने पीर मात्र हो, अहिलेका लागि उसको जिम्मेवारी कसैले लिनु पर्दैन, यसमा ढुक्क लागेको छ ।’
आमाले आफूप्रति देखाएको सहानुभूतिप्रति जिम्मेवार हुँदै दीपक भन्छन्, ‘आमा पीर नगर, शारीरिक रूपमा अशक्त भए पनि म मानसिक रूपमा सशक्त छु । कति यस्ता सन्तान पनि छन्, जो सशक्त भएर पनि अशक्तको व्यवहार देखाई परिवारलाई पीडा दिइरहेका छन् ।’ उनले यसो भन्दै गर्दा आमाको आँखामा आँसु टलपलिएको स्पष्टै देखिन्थ्यो ।
दीपक विगत ६ वर्षदेखि अन्तरराष्ट्रिय विमानस्थलमा कार्यरत छन् । अध्ययन सम्पन्न गरे पनि रोजगारी पाउन नसकेपछि आफू मन्त्रीसँग आग्रह गर्न पुगेको उनी बताउँछन् । ‘नाम त नलिऊँ, उनै मन्त्रीले गर्दा यो जागीर पाएको हुँ,’ उनी थप्छन्, ‘अब सरकारले यसलाई पनि स्थायी गराउन पहल गरे राम्रो हुन्थ्यो ।’
प्रधानले आफ्नो आम्दानी शेयर बजारमै लगानी गर्दै आएका छन् । शेयरबजारमा हालसम्म १५ लाख रुपैयाँ लगानी गरिसकेको उनी बताउँछन् । ‘बजार बढ्दा २५ लाखसम्म पोर्टफोलियो पुगेको थियो,’ अहिले अलि कम छ,’ उनी सुनाउँछन् ।
आफ्नो जस्तै समस्या भएका कतिपय साथीले आम्दानी सञ्चित गर्न नसकेकोमा उनको चिन्ता छ । आवश्यकता असीमित भएकाले खर्चले कहिल्यै पुर्याउन नसकिने बुझेका उनी आफ्ना लागि आफैले केही रकम बचत गर्नुपर्ने मान्यता राख्छन् ।
‘लगानी गर्न एफएम रेडियोबाट शेयर बजारको सूचना सुन्ने गरेको छु,’ दीपक भन्छन्, ‘पहिले कम्पनीको आर्थिक अवस्था राम्रोसँग बुझ्छु, अनि मात्र लगानी गर्ने गरेको छु ।’ शेयर बजारको गतिविधि र यससँग सम्बन्धित विषयलाई समेटेर विभिन्न रेडियोले प्रसारण गरेको सामग्री आफूजस्ता दृष्टिविहीनका लागि प्रभावकारी भएको उनको ठम्याइ छ ।
पछिल्लो समय धितोपत्र बजारमा भित्रिएका प्रविधिका बारेमा जानकारी भए पनि यसको प्रयोगका लागि ब्रोकर कम्पनी नै जाने गरेको दीपक बताउँछन् । अपाङ्गता भएकाका लागि पूँजीबजारमा पनि आरक्षणको व्यवस्था गर्न उनी नियामक निकायसँग माग गर्छन् । ‘पूँजीबजारमा लगानी गर्ने इच्छा भएर पनि मजस्ता धेरै साथीले गर्न सकेका छैनन्,’ उनी भन्छन्, ‘त्यसैले, सरकारले लगानीमैत्री वातावरण बनाइदिनुपर्छ ।’ फुर्सदको समय ब्रोकर कम्पनीमा गएर कारोबारको जानकारी राख्ने उनी ब्रोकर कम्पनीले कारोबारको विवरण सुन्न सक्ने प्रणालीको व्यवस्था गर्नुपर्नेमा जोड दिन्छन् । नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायसँग यस्तो व्यवस्थाको माग गर्दै आए पनि हालसम्म सुनुवाइ नभएकोप्रति उनको गुनासो छ ।
विभिन्न व्यक्तिले दिएको अभिव्यक्तिका कारण शेयर बजार समयसमयमा प्रभावित भएको देख्दा नियामक निकायले यस्ता अभिव्यक्तिमा कडाइ गर्नुपर्ने माग दीपकको छ । कम्पनीको सकारात्मक गतिविधिले शेयरमूल्य बढ्ने र नकारात्मक गतिविधिले शेयरमूल्य प्रभावित हुने परिपाटी रहेकाले कम्पनीहरूले यसप्रति ध्यान पुर्याउनुपर्ने उनको सुझाव छ ।
कम्पनीहरूको वार्षिक साधारणसभामा दीपक समय निकालेर सकेसम्म पुग्ने गरेका छन् । अफिसको काम मिलाएर युनाइटेड इन्स्योरेन्सको २४औं वार्षिक साधारणसभामा सहभागी हुन आमासँगै आएका उनी यस वर्ष युनाइटेडले लाभांश नदिएको गुनासो गर्छन् । कम्पनीले व्यवस्था गरेको खानपिन कार्यक्रममा सहभागी हुँदै उनले ‘लाभांश नदिए पनि खानचाहिँ राम्रै दियो’ भन्दै ठट्टा पनि गर्न भ्याए ।
कुनै पनि बच्चा दृष्टिविहीन बन्नुमा बुबाआमाको पनि कमजोरी हुने दीपकको धारणा छ । हरेक आमाबुबाले बच्चा पाउने उद्देश्य मात्र होइन, स्वस्थ बच्चा जन्माउने सोचसमेत राख्नुपर्ने उनको सुझाव छ ।