सुर्खेत । स्तरोन्नतिको अभावमा कर्णालीका विमानस्थलहरूमा वर्षेनि एकपछि अर्को जहाज दुर्घटना हुँदा यहाँका विमानस्थल असुरक्षित बन्दै गएको देखिएको छ । भौतिकसँगै मानवीय क्षतिले आम नागरिकमा हवाई सेवाप्रति विश्वास घट्न थालेको छ । तर, यस विषयमा सरोकारवाला भने गम्भीर देखिँदैनन् ।
‘मानवीय क्षति हुँदा सरकार गम्भीर भएको बहाना गर्छन्,’ नेपाल उद्योग वाणिज्य महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले भने, ‘भौतिक क्षति भएमा प्राविधिक पक्ष सुधार गर्ने भन्दै आश्वासनबाहेक राज्यले अरू केही दिन सकेको छैन ।’ अन्ततः प्रतिफल शून्य नै देखिएको र दुर्घटना हुने क्रम नरोकिएको उनले बताए । पुराना जहाजमा प्राविधिक समस्यासँगै कर्णालीका विमानस्थल निकै साँघुरा रहेकाले दुर्घटना बढेको उनले दाबी गरे ।
पुराना जहाजले जोखीम
पुराना जहाजका कारण पनि दुर्घटनाको जोखीम बढेको पाइएको छ । जुम्लामा केही साताअघि अवतरण हँुदै गर्दा तारा एयरको विमानको टायर पञ्चर भएको, हुम्लामा दुर्घटना भएको जहाज बीचमै सम्पर्कविहीन भएको र इञ्जिनले काम गर्न छोडेकोजस्ता उदाहरणले पनि यो तथ्यलाई पुष्टि गर्छ ।
स्तरवृद्धिका कुरा हराए
कर्णालीका विमानस्थलको अवलोकन गर्न गत फागुनमा जुम्ला पुगेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोलीले अब कर्णाली विमानस्थलका मुहार फेरिने बताएका थिए । मन्त्रालयका सहसचिव सुरेश आचार्यको टोलीले कर्णालीका धावनमार्गको स्थलगत अवलोकन गरेको थियो । अवलोकनपश्चात् मात्रै कर्णालीमा दुईटा विमान दुर्घटना भइसकेका छन् । तर, सरकारबाट स्तरोन्नतिको काम अझै शुरू हुन सकेको छैन ।
कर्णाली प्रदेशका साँघुरा धावनमार्ग र सरल हवाई रूट नभएकाले यहाँ वर्षेनि विमान दुर्घटना हुने गरेको छ । कर्णालीमा भएका विमान दुर्घटनामा परी हालसम्म ४५ जनाभन्दा बढीको ज्यान गइसकेको छ भने हजारौं घाइते तथा अङ्गभङ्ग
भएका छन् ।