धनगढी । प्रदेश नम्बर ७ मा पहिलोपटक केबलकार सञ्चालनमा आउने भएको छ । कैलाली जिल्लाको पर्यटकीयस्थल चिसापानी–राजकाँडा केबलकार सञ्चालनका लागि ६० प्रतिशत चन्द्र ढकाल र ४० प्रतिशत स्थानीयको लगानी रहने गरी आवश्यक तयारी अघि बढाइएको हो । चन्द्रागिरी केबलकारका अध्यक्ष ढकाल र स्थानीयको लगानीमा साढे दुई किलोमिटर लम्बाइ रहने गरी सम्भाव्यता अध्ययनसहित जग्गा प्राप्तिको काम अघि बढाइएको उक्त केबलकार जालपादेवी केबलकार प्रालिको नामबाट सञ्चालनमा आउनेछ ।
केबलकार सञ्चालनका लागि प्रारम्भिक चरणमा २ अर्ब ५० करोड लगानी रहने कम्पनीले जानकारी दिएको छ । चिसापानी बेसक्याम्प बनाइने केबलकार मोहन्याल–७, राजकाँडाको मेलडाँडा अन्तिम बिन्दु हुनेछ । आर्थिक वर्ष २०७४÷७५ देखि शुरू भएर २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको जालपादेवी केबलकारका इञ्जिनीयर रामशरण सापकोटाले बताए । ‘सम्भाव्यता अध्ययन टोलीले सामाजिक, आर्थिक र वातावरणीय दृष्टिकोणले उपयुक्त भनिसकेको छ’ उनले भने । केबलकार सञ्चालनका लागि जग्गा प्राप्तिको काम शुरू भइसकेको छ । सापकोटाले प्रारम्भिक सर्वेक्षण, सम्भाव्यताको काम सम्पन्न भइसकेको र विस्तृत वातावण मूल्याङ्कनको काम साइड क्लियरको काम पनि अगाडि बढाइसकेको जानकारी गराए । कैलालीको दक्षिणी क्षेत्रमा निर्माण हुने केबलकार प्रदेशकै पहिलो केबलकार हुनेछ ।
केबलकार सञ्चालनका लागि कम्पनीको नाममा जग्गा पास गराउने काम थालिएको जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले बताए । केबलकार सञ्चालनका लागि विज्ञ टोली जर्मनी र अष्ट्रेलिया गएको थापाले जानकारी गराए । ‘जग्गा प्राप्तिका लागि स्थानीयसँग सहमति भइसकेको छ,’ थापाले भने ।
मोन्याल गाउँपालिका–७ धुलिखेल, राजकाँडा र गौरीगाउँमा विभिन्न संरचना बनाउने कम्पनीको योजना छ । स्थानीयले कम्पनीसँग रोजगारीको माग गर्दै केबलकार सञ्चालनमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यातायातको साधन पुग्न नसकेको ठाउँमा केबलकार सञ्चालनमा आए धार्मिक पर्यटकहरू भित्रिने स्थानीय दिलबहादुर खत्री बताउँछन् । २५ घरपरिवारको मात्रै स्थायी बसोबास रहे पनि अधिकांश स्थानीयले विद्युत्, खानेपानी, स्वास्थ्य सेवालगायत सुविधा नभएकै कारण जग्गा बाँझो राखेर लम्की, टीकापुरलगायत क्षेत्रमा बसोवास गर्दै आएका छन् ।