तोकिएकै दरमा लाभांश वितरण गर्ने अग्राधिकार भएको शेयरलाई अग्राधिकार (प्रिफरेन्स) शेयर भनिन्छ । अग्राधिकार शेयरबापतको लाभांश बाँडिसकेपछि मात्र साधारण शेयरबापतको लाभांश बाँडिन्छ । कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्नेगरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयरबापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैं एउटै हुने सुनिश्चित हुन्छ । यद्यपि, कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार शेयरधनीले पनि लाभांश पाउँदैनन् । कम्पनी विघटनमा गए पनि अग्राधिकार शेयरधनीलाई आफ्नो लगानी तथा लाभांश प्राप्त गर्ने पहिलो अधिकार हुन्छ । यही कारण साधारण शेयरभन्दा अग्राधिकार शेयरमा गरिएको लगानी सुरक्षित हुन्छ ।
कतिपय अग्राधिकार शेयर निश्चित समयावधिपछि साधारण शेयरमा परिणत हुने खालका हुन्छन् । यस्तो शेयरलाई परिवर्तनीय (कन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । यसरी परिवर्तन गर्न नसक्ने खालको शेयरलाई अपरिवर्तनीय (नन्कन्भर्टिबल) अग्राधिकार शेयर भनिन्छ । साधारणसभामा अग्राधिकार शेयरधनीलाई मतदान गर्ने अधिकार दिएको वा नदिएको आधारमा पनि अग्राधिकार शेयरको वर्गीकरण गर्न सकिन्छ ।
अग्राधिकार शेयरका अन्य प्रकारक्युमुलेटिभ, ननक्युमुलेटिभ अग्राधिकार शेयर
कुनै वर्ष कम्पनीले अग्राधिकार शेयरधनीलाई तोकिएको लाभांश दिन सकेन भने त्यो लाभांश आगामी वर्षमा नाफा भएमा अघिल्लो वर्षको समेत जोडेर दिने व्यवस्था छ भने त्यस्तो शेयरलाई क्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ । जुन वर्ष नाफा भएको हो, त्यही वर्ष मात्र लाभांश बाँडिने शेयरलाई ननक्युमुलेटिभ अग्राधिकार शेयर भनिन्छ ।
रेडिमेबल, इरेडिमेबल अग्राधिकार शेयर
निश्चित समयपछि सावाँ रकम फिर्ता हुने अग्राधिकार शेयरलाई रेडिमेबल अग्राधिकार शेयर भनिन्छ भने फिर्ता नहुने अर्थात् कम्पनी रहुन्जेलसम्म रहेनगरी जारी गरिएको अग्राधिकार शेयरलाई इरेडिमेबल (अग्राधिकार) शेयर भनिन्छ । यसरी कुनै अग्राधिकार शेयर कन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल हुन सक्छ भने कुनै कन्भर्टिबल, ननक्युमुलेटभ र रेडिमेबल हुन सक्छन् । त्यस्तै, कुनै अग्राधिकार ननकन्भर्टिबल, क्युमुलेटिभ र रेडिमेबल पनि हुन सक्छ ।
अग्राधिकार शेयरका विशेषतासंचित लाभांश
कम्पनी कुनै वर्ष घाटामा गएर लाभांश वितरण गर्न नसकेमा बाँकी रहेको लाभांश सञ्चित भएर आगामी वर्षहरूमा प्राप्त गर्ने व्यवस्था हुन सक्छ । यस्तो लाभांशलाई सञ्चित लाभांश भनिन्छ ।
अङ्कित मूल्य
अग्राधिकार शेयरमा लाभांशको रकम निर्धारणका लागि अङ्कित मूल्य उल्लेख गरिएको हुन्छ । त्यसैगरी कम्पनी विघटनमा गएर पूँजी फिर्ता गर्ने क्रममा अङ्कित मूल्यबराबर नै फिर्ता गर्नुपर्ने हुन्छ । सोही कारण अग्राधिकार शेयरमा अङ्कित मूल्य तोकिएको हुन्छ ।
आम्दानी र सम्पत्तिमा प्राथमिकता
अग्राधिकार शेयरधनीलाई आम्दानी प्राप्त गर्ने र कम्पनी घाटामा गएमा पनि पूँजी फिर्ता गर्ने क्रममा साधारण शेयरधनीलाई भन्दा पहिलो प्राथमिकता हुन्छ ।
यस्तो शेयरलाई मिश्रित प्रतिभूति पनि भनिन्छ । किनभने, अग्राधिकार शेयरमा साधारण शेयर र ऋणपत्र दुवैको विशेषता हुन्छ । नेपालको कम्पनी ऐनअनुसार अग्राधिकार शेयर रकम फिर्ता गरेमा वा फिर्ताको प्रस्ताव गरेमा सो शेयरको अङ्कित मूल्यबराबरको नयाँ शेयर जारी गर्न सक्ने व्यवस्था छ । हाल नेपालको पूँजीबजारमा सूचीकृत कम्पनीमध्ये यस्तो शेयर कृषि विकास बैङ्क र एभरेष्ट बैङ्कको मात्र देखिन्छ । अर्थमन्त्री डा. युवराज खतिवडाले केही दिनअघि धितोपत्र बोर्डको वार्षिकोत्सव समारोहमा पूँजीबजारमा हाल साधारण शेयरको मात्र किनबेच हुने गरेको उल्लेख गरे । यस्तो अवस्थामा सुधार ल्याउन अन्य उपकरण पनि किनबेच गर्न पाउने व्यवस्था ल्याउनुपर्नेमा उनले जोड दिएका थिए । यस्ता वैकल्पिक उपकरणमा ऋणपत्र र डेरिभेटिभहरूका साथै अग्राधिकार शेयर पनि हुन सक्छ । बैङ्कमा निक्षेप गर्दा प्राप्त हुने ब्याजदरभन्दा बढी लाभांश दर तोकेर बैङ्कहरूले अग्राधिकार शेयर जारी गर्ने हो भने हाल बैङ्कले भोगिरहेको फण्ड मिसम्याचको समस्या घट्छ । हाल बैङ्कहरूले छोटो अवधिका लागि (६ महीना, १ वर्ष वा २ वर्षको) निक्षेप लिएर लामो अवधि (५ वर्ष, १० वर्ष र २० वर्ष)का लागि कर्जा प्रवाह गरिरहेका छन् । यस्तो मिसम्याचले गर्दा निक्षेप र कर्जा दुवैमा ब्याजदर बारम्बार परिवर्तन गरिरहनुपर्छ । सोही कारण बैङ्कहरूको आलोचना पनि हुने गरेको छ ।