रुकुम । जिल्लाको यार्सा सिजन व्यवस्थापन समितिले यार्सा सङ्कलन पूर्जी वितरणबाट १४ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । यार्सा टिप्ने सर्वसाधारण तथा खरीद गर्ने व्यापारीबाट नगद सङ्कलन गरिएको समितिका अध्यक्ष अमरधन पुनले बताए ।
यार्सा खोज्ने सर्वसाधारणबाट समितिले ९ लाख आम्दानी गरेको छ । बाहिरका सर्वसाधारणबाट समितिले प्रवेश शुल्क भनेर प्रतिसर्वसाधारण १ हजार ५ सय रुपैयाँ लिएको थियो । ३ हजारभन्दा बढी यार्सा खोज्नेमा ६ सयको हाराहारीमा मात्रै स्थानीय थिए । समितिले स्थानीयलाई प्रवेश शुल्क लिने गरेको छैन ।
यस सिजनमा समितिले यार्सा खरीद गर्ने स्थानीय व्यापारीलाई प्रतिव्यापारी १५ हजार प्रवेश शुल्कबापत रकम लिएको थियो । ३२ जना स्थानीय व्यापारीले १५ हजारका दरले ४ लाख ८० हजार रुपैयाँ समितिलाई बुझाएका थिए । समितिले बाहिरका प्रतिव्यापारीबाट ३० हजार रुपैयाँ शुल्क लिएको थियो । यार्सागुम्बा सङ्कलनबाट जिल्ला वन कार्यालय रुकुमले ३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । कार्यालयले यस सिजनमा १३ किलो यार्साको मात्रै राजस्व सङ्कलन भएको बताएको छ ।