कक्षा ११ मा भर्ना हुने विद्यार्थीको उमेर कम्तीमा १६ वर्षको हुन्छ । यो उमेर हरेक मानिसको जीवनकै सबैभन्दा ऊर्जाशील, परिवर्तनशील तथा संवेदनशील समय हो । त्यसमाथि आम अभिभावकका साथै विद्यार्थीमा कक्षा १० पार गर्नुलाई विद्यालय शिक्षाबाट उच्च शिक्षा प्रारम्भ भएको भन्ने मनोविज्ञान कायमै छ । त्यसैले, एसईईको तयारी गर्दा अभिभावकबाट विद्यार्थीले एसएलसीको जस्तै दबाब खेप्नुपर्ने बाध्यता हटेको छैन ।
सरकारले कक्षा ११ र १२ लाई उच्चशिक्षाबाट विद्यालय शिक्षामा ल्याए पनि उक्त तहका कक्षा सञ्चालन गर्ने शैक्षिक संस्थाले ‘प्लस टू भर्ना’ भन्ने जस्ता विज्ञापन गरि नै रहेका छन् । साथै, यस्ता संस्थाले २ वर्षपहिला जस्तै प्रचार–प्रसार, प्रवेश परीक्षालगायत प्रक्रिया सञ्चालन गरी कक्षा ११ लाई उच्च शिक्षाको अनुभूति दिलाइरहेका छन् । यसले विद्यार्थीमा पनि सोहीअनुसारको दबाब पैदा गरिरहेको छ । यो भनेको विद्यालय तह नै हो भनेर विद्यार्थी तथा अभिभावकलाई बुझ्न/बुझाउन केही समय लाग्ने विज्ञहरू बताउँछन् ।
भर्खरभर्खरै कक्षा १० को नतीजा प्रतिशतको सट्टा ग्रेड प्वाइण्ट एभरेज (जीपीए)मा निकाल्न थालिएकाले अभिभावकमा जीपीएलाई प्रतिशतकै मूल्याङ्कनअनुरूप हेर्ने दृष्टिकोण कायमै छ । अभिभावकले अहिले पनि प्रतिशत जस्तै जीपीएमा उच्च स्तर ल्याउन विद्यार्थीलाई दबाब दिने गरेको मनोविज्ञ करुणा कुँवर बताउँछिन् । ‘जीपीएअनुरूपको मूल्याङ्कनले विद्यार्थीको कुन विषयमा बढी रुचि तथा दक्खल छ भन्ने देखाउँछ,’ उनी भन्छिन्, ‘यसका आधारमा अभिभावकले उनीहरूको अगाडिको शिक्षा छनोटमा सहयोग गर्नु उपयुक्त हुन्छ ।’
जीपीएका आधारमा हुने मूल्याङ्कनले विद्यार्थीको ड्रपआउट, छिटो विवाहका साथै आत्महत्याजस्ता घटना रोक्न मद्दत गर्छ । यो विधिबाट कुनै विद्यार्थी अनुत्तीर्ण हुँदैनन्, अगाडिको शिक्षाका लागि छान्न पाउने विषयमा मात्र फरक पर्छ । पछिल्लो समय अभिभावकमा विषय छनोटका सम्बन्धमा खुला विचार बढ्न थालेको मनोविज्ञ कुँवरको भनाइ छ । यसले विद्यार्थीमा आप्mनो क्षमता र रोजाइका विषय पढ्न पाउने वातावरण बन्दै गएको उनी बताउँछिन् ।
जोखीमयुक्त उमेर र सहयोगको खाँचो
बाल्य अवस्था पार गरेको र युवा अवस्थामा प्रवेश नगरेको यो उमेरमा हुने हर्मोनल परिवर्तनले हरेक विषयमा उत्सुकता जगाउँछ । जे पनि गर्न सक्ने आत्मविश्वास जाग्ने यो उमेरमा उचित परामर्श र साथको धेरै आवश्यकता पर्छ ।
अर्कोतर्फ कक्षा १० सम्मको भन्दा एकैपटक फड्को मारेको पाठ्यक्रम रहेको कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि पढाइको बोझ पनि उत्तिकै थपिन्छ । धेरैजसो विद्यार्थी नयाँ विद्यालयमा भर्ना हुने हुँदा वातावरण तथा साथी पनि नयाँ हुन्छन् । यो उमेरमा छोराछोरी बिग्रिने सम्भावना हुन्छ भनेर अभिभावकको निगरानी र नियन्त्रण पनि उत्तिकै हुन्छ । एक्कासि बढेको पाठ्यक्रमको स्तर र शिक्षण संस्थाका तालिका, नयाँ वातावरण, साथीसँगको समय तथा अभिभावकको आदेश सबैलाई व्यवस्थापन गर्नुपर्ने हुँदा उनीहरूमा तनाव बढ्न जान्छ । यसले यस तहका विद्यार्थीमा मानसिक रोग लाग्ने, राति निद्रा नपर्ने, दुब्लाउँदै जाने, खान मन नगर्ने तथा एक्लै बस्न रुचाउने लक्षण बढी देखिने मनोविज्ञ कुँवरको भनाइ छ । ‘परिवार तथा विद्यालयको राम्रो परामर्श र सहयोग नपाए लागूऔषध दुव्र्यसनी तथा जोखीमयुक्त सम्बन्ध निर्माण हुने सबैभन्दा बढी सम्भावना यही उमेरमा हुन्छ,’ उनी भन्छिन्, ‘यसो हुन नदिन सानो उमेरदेखि नै अभिभावकले उनीहरूसँग साथीजस्तो भएर कुरा गर्ने बानी बसाल्नुका साथै विद्यालयको तल्लो तहबाटै जोखीम न्यूनीकरणसम्बन्धी ज्ञान पाठ्यक्रममै राखिदिनुपर्छ ।’
पुस्तान्तर (जेनेरेशन ग्याप)को समस्या पुरानो पुस्ताले बुझेर सोहीअनुसार व्यवहार गर्न पनि अभिभावकको दायित्व हुने कुँवरको भनाइ छ । आपूmले त्यो उमेर भोगेर आइसकेकाले अभिभावकले सहज तरिकाले बुभ्mन सक्छन् । त्यस्तै, विद्यालयहरूले पनि किताबी ज्ञान मात्र नभई विद्यार्थीको सर्वाङ्गीण विकास, अतिरिक्त क्रियाकलाप तथा जीवनोपयोगी शीप सिकाइमा बढी जोड दिनु आवश्यक हुने उनी सुझाउँछिन् ।