लुम्बिनी–कर्णाली–कैलाश मानसरोवर सर्किट : पर्यटन प्रवर्द्धनमा जुट्दै प्रदेश सरकार
Jun 29, 2018
 
बजार
सुर्खेत । सांस्कृतिक तथा धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले लुम्बिनी–कर्णाली–कैलाश मानसरोवर परिपथ सर्किट विकासका लागि सुर्खेतको वीरेन्द्रनगरमा परामर्श गोष्ठी भएको छ । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमवार आयोजना गरेको उक्त गोष्ठीमा लुम्बिनी आउने पर्यटकलाई सुर्खेतको काँक्रेविहार, दैलेख, डोल्पा, जुम्ला हुँदै कैलाश मानसरोवरसम्म पुर्याउन सरकारी पक्षबाटै लुम्बिनी–कर्णाली–कैलाश मानसरोवर परिपथ (सर्किट)को विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
गोष्ठीमा कर्णालीका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले लुम्बिनी आउने पर्यटकलाई केन्द्रबिन्दुमा राखेर कर्णालीका ऐतिहासिक धरोहरको अवलोकनका लागि उक्त सर्किट महत्त्वपूर्ण हुने धारणा राखे । उनले यो सर्किटका लागि भैरहवामा निर्माणाधीन अन्तरराष्ट्रिय लुम्बिनी विमानस्थलबाट सीधै सुर्खेतसम्म हवाई सेवा जोड्न पहल शुरू गरिने जानकारी दिए । उनका अनुसार बौद्ध, हिन्दू तथा अन्य धर्मावलम्बीलाई समेत उक्त सर्किटबारे जानकारी गराइनेछ । ‘कर्णाली प्रदेश सरकार सर्किट विकासका लागि हरसम्भव प्रयास गर्न आतुर छ,’ उनले भने, ‘सङ्घीय सरकारले समेत यसको विकासका लागि विशेष योजना बनाएर अघि बढे देशलाई नै फाइदा पुग्छ ।’ उनले यस क्षेत्रमा धार्मिक पर्यटनको समेत उत्तिकै सम्भावना रहेकाले भौतिक पूर्वाधार विकाससँगै ऐतिहासिक स्थलको संरक्षण तथा संवद्र्धनमा प्रदेश सरकार जुट्ने दाबी गरे ।
कार्यक्रममा बौद्ध सम्पदास्थललाई समेटेर बौद्ध परिपथ विकासका लागि लुम्बिनी–कर्णाली–कैलाश मानसरोवर परिपथ उपयुक्त रहेको कार्यक्रमका सहभागीको धारणा रहेको थियो । उक्त सर्किटको विकास गरी तीर्थाटन एवम् सांस्कृतिक पर्यटन प्रवद्र्धनमा साझा धारणा आवश्यक रहेको संस्कृतिविज्ञ डा. मिलन शाक्यले बताए । उनले लुम्बिनी–कर्णाली–कैलाश मानसरोवर परिपथको विस्तृत अध्ययन अनुसन्धान गरी दस्तावेज नै तयार गर्न आवश्यक रहेको औंल्याए ।