ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मलेशियामा जाने कामदार रोकिँदाको असर एयरलाइन्समा

Jul 1, 2018  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । नेपालबाट रोजगारीका लागि मलेशिया जाने कामदार रोकिएसँगै त्यसको सीधा असर वायुसेवा कम्पनीमा परेको छ । सरकारले मलेशियामा कामदार पठाउने म्यानपावर एजेन्सीलगायतमा कडाइ गरेसँगै नेपालबाट मलेशिया जाने यात्रुको सङ्ख्या घटेको हो । वैदेशिक रोजगारीको लागि आकर्षक गन्तव्य मानिने मलेशियाका लागि नेपाल एयरलायन्स, हिमालय एयरलायन्स, मालिन्दो एयर, मलेशिया एयर र एयर एशियाले उडान गर्दै आएका छन् । नेपाली कामदारलाई नै लक्षित गरी उडान गरेका यी विमान सेवा कम्पनीले कामदारको सङ्ख्या घटेसँगै काठमाडौं–क्वालालम्पुर र क्वालालम्पुर–काठमाडौंको उडान कटौती गरेको जानकारी दिए । अहिले मलेशियाबाट फर्किने यात्रुको चाप भए पनि नेपालबाट जाने यात्रुको चापमा कमी आएको छ । मलेशियामा ७ देखि ८ लाख नेपाली श्रमिक रहेको अनुमान छ । सन् २०१८ को अप्रिल महीनाको तुलनामा मे महीनामै मलेशिया जाने यात्रुको सङ्ख्या ८ हजारभन्दा बढीले घटेको छ । मलेशिया जाने हवाई यात्रु सङ्ख्या अप्रिलमा ४४ हजार ६ सय ८६ थियो भने मे महीनामा त्यो सङ्ख्या घटेर ३६ हजार ८ सयमा सीमित भएको छ । यो सङ्ख्या क्रमशः घट्ने उनीहरूको आकलन छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार नेपाली कामदार रोकिँदा २५ प्रतिशतभन्दा बढी यात्रु सङ्ख्यामा कमी आएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । अहिले म्यानपावर एजेन्सीले कामदार पठाउन छाडेकोले मलेशिया जाने कामदारको सङ्ख्या घटेको हो । रोजगारीका लागि मलेशिया जाने कामदारमाथि अवैधानिक रूपमा रकम असुली गरेको आरोपमा सरकारले बन्द गर्ने निर्णय गरेपछि मलेशिया जाने कामदारको सङ्ख्यामा कमी आएको छ । यसको प्रत्यक्ष असर एयरलायन्स कम्पनीमाथि परेको छ । सरकारले भीएलएन, वानस्टपलगायत मलेशियामा कामदार पठाउँदै आएका केही कम्पनी र म्यानपावर एजेन्सीमाथि कारबाही गरेको छ । सातामा काठमाडौं–क्वालालम्पुर चार उडान गर्दै आएका नेपाल वायुसेवा निगमले मलेशियामा एउटा उडान कटौती गरेको छ । यस्तै सातामा पाँचओटा उडान गर्ने गरेको हिमालय एयरलायन्सले सातामा दुईओटा मात्रै उडान गर्न थालेको छ । त्यस्तैगरी मलेशियाबाट उडान गर्ने मलेशियन एयरलायन्स, एयर एशिया तथा मालिन्दो एयरले पनि उडान कटौती गरेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)