मागभन्दा आपूर्ति बढेर नेप्से घटिरहेको बेला अहिले २ करोडभन्दा बढी कित्ता हकप्रद शेयर विक्रीमा छन् । यसरी आपूर्ति थपिँदा बजारको भविष्यबारे लगानीकर्ता चिन्तित छन् । अहिले १० कम्पनीको हकप्रद शेयर बजारमा छ । तीमध्ये दुई कम्पनीको हकप्रद शेयरका लागि आइतवारदेखि आवेदन सङ्कलन हुँदै छ भने दुईओटाको आवेदन सङ्कलन केही दिनमै बन्द हुँदै छ (हे. तालिका) । यी १० कम्पनीको कुल २ करोड ३७ लाख ३ हजार २ सय ५१ कित्ता हकप्रद शेयर साउनदेखि असोजसम्ममा सूचीकृत भइसक्ने अपेक्षा छ । नेपाल राष्ट्र बैङ्कले चुक्तापूँजी वृद्धि गर्न निर्देशन दिएपछि यी कम्पनीले हकप्रद जारी गर्न लागेका हुन् । यीबाहेक नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृति पाइसकेका थप ६ कम्पनीले पनि हकप्रद शेयर चाँडै निष्कासन गर्ने अपेक्षा छ । साथै, कतिपय कम्पनी हकप्रदका लागि सेबोनको स्वीकृति पर्खिरहेका छन् ।
१ वर्षअघि १५ सय विन्दुको हाराहारीमा रहेको नेप्से निरन्तर ओरालो लागेर अहिले १२ सयको हाराहारीमा आइपुगेको छ । त्यसअघि सन्तुलनमा रहेको शेयरबजार हकप्रद शेयर आउन थालेपछि ओरालो लागेको विश्लेषकहरूको अनुमान छ ।
हालै जारी भएका सबैजसो कम्पनीको हकप्रद शेयर पूरै नबिकेकाले लीलामीबाट विक्री भइरहेको छ । कतिपय कम्पनीको हकप्रद शेयर त लीलामीमा पनि बिक्न छाडिसकेको छ । यस्तो अवस्थामा पनि थप कम्पनीको हकप्रद आउँदा आपूर्ति झन् बढेर बजार घट्ने भय बढ्न थालेको छ ।