धनगढी । कैलालीको चुरे क्षेत्रमा रहेका कुल ३३ सामुदायिक वनमध्ये चालू आर्थिक वर्षको जेठ मसान्तसम्म ८ ओटा सामुदायिक वन वैज्ञानिक वन व्यवस्थापनमा समाहित भएका छन् । वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत चुरे गाउँपालिकाभित्र पर्ने सिद्ध बाँसघारी, भगवती, सिद्ध प्रगतिशील, सिद्धगलतशील, ग्वाँसी, सालघारी, कालिका तथा जनजागृति सामुदायिक वन छन् ।
वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत समाहित भएका उक्त आठओटा सामुदायिक वनको कुल क्षेत्रफल २ हजार ७ सय ९९ दशमलव ८४ हेक्टरमध्ये १ हजार ७ सय ८७ दशमलव ४० हेक्टर वन क्षेत्रलाई प्रभावकारी क्षेत्रको रूपमा लिइएको इलाका वन कार्यालय खानीडाँडाका सहायक वनअधिकृत डबलबहादुर बोहराले बताए ।
वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि चालू आर्थिक वर्षको असार दोस्रो सातासम्ममा कुल २ सय ८५ ओटा ढलापढा रूख कटानी भएर घाटगद्दी गरिएको छ । हैसियत बिग्रेका तथा उमेर पुगेका रूख काट्न जिल्ला वन कार्यालयले स्वीकृति दिएपछि उक्त परिमाणमा रूखहरू काटिएको सम्बन्धित सामुदायिक वनका पदाधिकारीले बताएका छन् ।
वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि चालू आवमा ९४ हजार ९ सय ६९ दशमलव ५१ क्यूफिट काठ उत्पादन भएको छ । १ सय ५७ दशमलव १४ चट्टा दाउरा उत्पादन तथा ४२ हजार ७ सय २८ दिन रोजगारी सृजना भएको इलाका वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
वनहरूले सो अवधिसम्ममा काठविक्रीबाट करीब ६ करोड ९४ लाख, दाउरा विक्रीबाट ३९ लाख २८ हजार र रोजगारीबाट २ करोड १३ लाख रुपैयाँ आम्दानी भएको तथ्याङ्कले देखाएको छ ।