ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा हवाई उडान ठप्प

Jul 4, 2018  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । कर्णाली प्रदेशमा भारी वर्षाका कारण २ दिनदेखि सुर्खेत विमानस्थल ठप्प भएको छ । सुर्खेतबाट काठमाडौं र कर्णालीका हिमाली क्षेत्रमा जाने कुनै पनि उडान भएका छैनन् । हवाई सेवा अवरुद्ध हुँदा सर्वसाधारण यात्रुले सास्ती पाउनुका साथै हवाई सेवा दिइरहेका कम्पनीले लाखौं रुपैयाँको घाटा भएको बताएका छन् । सुर्खेत विमानस्थलबाट दैनिक कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा, मुगु र प्रदेश नं. ७ को बाजुरालगायतका जिल्लामा खाद्यान्न ढुवानी तथा यात्रु आवतजावत हुने गरेको छ । हवाई सेवा अवरुद्ध हुँदा ती जिल्लामा खाद्यान्न तथा अत्यावश्यक सामग्री पुग्न सकेको छैन । नागरिक उड्डयन कार्यालयका प्रमुख विनोद पन्तले वर्षाका कारण मौसम खराब हुँदा हवाई सेवा अवरुद्ध भएको बताए । हुम्लामा आइतवार रातिदेखि भएको वर्षाका कारण उडान नहुँदा भारतीय पर्यटक सिमकोटमै रोकिएका छन् । भारतीय तीर्थयात्रीलाई हिल्सासम्म लैजाने हेलिकोप्टर कम्पनीले पनि उडान गर्न सकेका छैनन् । सिमकोट विमानस्थलमा विभिन्न कम्पनीका ७ हेलिकोप्टर छन् । झण्डै ५ सय भारतीय तीर्थयात्रु सिमकोटका होटलमा जहाजको प्रतीक्षामा रहेको हुम्लाबाट सञ्चारकर्मी नरजन तामाङले बताए । बाढी–पहिरो आइतवार, सोमवार र मङ्गलवार सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न भागमा आएको बाढी–पहिरोले मानवीय क्षति नभए पनि केही ठाउँमा भौतिक क्षति पुर्‍याएको छ । पहिरोले सुर्खेतको गुर्भाकोट १, गैरीबजारममा झक्कुप्रसाद तिवारीको चारकोठे र टेकलाल तिवारीको एक तले घरसँगै चामलको गोदाम भत्काएको छ । जिल्लाका विभिन्न स्थानबाट बाढीपहिरोले पुर्‍याएको क्षतिको विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले बताएको छ । हेलिकोप्टर तयारी अवस्थामा कर्णाली प्रदेश सरकारले राहत तथा उद्धार कार्य प्रभावित हुन नदिनका लागि सबै प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारीलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । तत्काल उद्धार र राहतका लागि सुर्खेतमा रहेका नेपाली सेनाको हेलिकोप्टरलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश सरकारले कुनै पनि विपद् आइपरे त्यसका लागि राहत सामग्रीहरू तयारी अवस्थामा राखिएको बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)