सुशासन निर्देशिका कार्यान्वयनमा आउनुअघि गुनासोको खात : एउटै सञ्चालक धेरै संस्थामा बस्न नपाउने प्रस्तावको विरोध
Jul 8, 2018
 
लगानी
काठमाडौं । आगामी साउनदेखि लागू हुनेगरी धितोपत्र बोर्ड (सेबोन)ले ल्याएको सुशासन निर्देशिका २०७४ मा संशोधन माग गर्दै गुनासोको खात लागेको छ । प्रस्तावित निर्देशिकाले एउटा सूचीकृत कम्पनीका सञ्चालकलाई अर्को कम्पनीमा संलग्न हुन रोक लगाएको छ । सो निर्देशिकाको दफा १३ को सञ्चालक आचरणसम्बन्धी व्यवस्था र दफा १४ को संस्थाको हितविपरीत कार्य गर्न नहुने उपदफा ५ मा यस्तो व्यवस्था छ । यो व्यवस्था व्यावहारिक नभएको तर्क सरकारवालाहरूको छ ।
हाल एउटै व्यक्ति एकभन्दा बढी यस्ता संस्थामा आबद्ध छन् । निर्देशिका ओटीसीमा सूचीकृत संस्थामा पनि लागू हुने हो कि होइन भन्ने स्पष्ट नभएकाले पनि अन्योल बढेको छ । सेबोनले उक्त निर्देशिका कार्यान्वयनका लागि ६ महीना समय दिएकोमा यही असार मसान्तमा पूरा हुँदै छ । र, अहिले यसबारे धेरै गुनासो आउन थालेको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरिले बताए । अब सबै गुनासो सङ्कलन गरेपछि यसलाई कार्यान्वयनमा ल्याउन उपयुक्त हुने वा नहुने भन्नेबारे आगामी मङ्गलवार सबै वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतसँगको अन्तरक्रियापछि निर्णय गरिने उनले बताए । ‘हामीले सुशासन भएन भनेर यसलाई कायम गर्न यो निर्देशिका ल्याएका हौं,’ उनले भने, ‘तर यो सही नभएको गुनासो आउन थालेको छ । छलफलपछि मात्र निर्णय गर्नेछौं ।’
सो निर्देशिका मुलुकको वस्तुस्थिति तथा परिस्थिति नहेरी बनाइएको हाथवे फाइनान्स कम्पनीका सञ्चालक प्रकाश तिवारीको टिप्पणी छ । तिवारी हाथवे इन्भेष्टमेण्टमा समेत आबद्ध छन् । ‘एउटै व्यक्ति धेरै संस्थामा आबद्ध भएका उदाहरण थुप्रै छन् । नेपाल धितोपत्र बोर्डले बनाएको यस्तो नियमले एउटा संस्थामा रू. ५ हजारको बैठक भत्ता मात्र खाएर बस भन्ने बुझिन्छ । सो निर्देशिकाअनुसार एक कम्पनीमा पदबहाली गरेको व्यक्ति दोस्रो कम्पनीमा काम गर्न नपाउने हो भन्ने हुन्छ । तर, यस नियममा कस्ता पदमा बहाल भएका व्यक्तिलाई निषेध हो, त्यो भने निर्देशिकामा स्पष्ट खुलाइएको छैन,’ उनले भने, ‘अर्थात् यो कार्यान्वयनमा ल्याउन बनाइएको नियम होइन ।’
हाथवे फाइनान्सका अध्यक्ष र हाथवे इन्भेष्टमेण्टका प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेल पनि यसलाई यहाँको वास्तविकता नहेरी बनाइएको नियम भन्छन् । ‘धितोपत्र बोर्डले सुशासन निर्देशिकालाई व्यवहारमा ल्याउने हो भने एउटा व्यक्तिले कुनचाहिँ पदमा दुईओटा संस्थामा काम गर्न नपाउने भनेर स्पष्ट खुलाउनुपर्छ,’ उनले भने ।
यो नियम आएपछि कति व्यक्तिले गरिरहेको कामसमेत छाडेको र निर्देशिकाले गर्दा धेरै मर्कामा परेको तिवारीको भनाइ छ । यो निर्देशिकामा नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीमा काम गर्ने कमचारीले मात्र अन्य कम्पनीमा काम गर्न नपाउने हो कि ओटीसी बजारमा सूचीकृत भएका कम्पनीले पनि नपाउने हो, त्यो खुलाउन उनले सेबोनसँग माग गरे । निर्देशिकामा सञ्चालकले अन्य कुनै पनि संस्थाको तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्नु हुँदैन भन्ने व्यवस्था छ । नेपालको सन्दर्भमा सञ्चालकहरू दीर्घकालीन नहुने भएकाले यस्तो व्यवस्थाले व्यवहारमा समस्या पार्न पनि सक्ने देखिएको छ ।
निर्देशिकामा भएको व्यवस्था
सञ्चालकले अन्य कुनै पनि संस्थाको तलबी पदाधिकारी, कार्यकारी प्रमुख वा कर्मचारी भई कार्य गर्न नहुने र समान किसिमको अर्को संस्थाको सञ्चालक हुन नपाइने व्यवस्था गरेको छ । यस्तै, आफूसँग वित्तीय स्वार्थ भएको कारोबारमा संलग्न हुन नहुने, प्रत्यक्ष/अप्रत्यक्ष रूपमा संस्थाको हितविरुद्ध लाग्न नहुने उल्लेख छ । सञ्चालक पदमा बहाल रहुन्जेल कुनै अर्को संस्थाको लेखापरीक्षक, सल्लाहकार, कार्यकारी प्रमुख, कर्मचारी, बीमा सर्भेयर, बीमा दलाल, बीमा अभिकर्ता वा तेस्रो पक्ष सहजकर्ता भई कार्य गर्न नपाउने भनिएको छ । कुनै एक किसिमको संस्था अर्को किसिमको संस्थाको सहायक कम्पनीमा कार्यकारी प्रमुख वा कर्मचारीलाई सञ्चालक नियुक्त गर्न भने यो निर्देशिकाले रोक लगाएको छैन ।