रुकुम । गुरिल्ला हिँड्ने बाटोमा पर्यटक चहलपहल बढेको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा गुरिल्ला हिँड्ने बाटोमा पर्यटकको आगमन बढेको हो । पछिल्लो समय गुरिल्ला पदमार्गमा पर्यटकको चहल पहल बढ्न थालेको स्थानीयले बताएका छन् ।
त्रिवेणी गाउँपालिका–८, खाराका स्थानीय निर्मल खड्काका अनुसार पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
रुकुम, म्यादी, बागलुङ र रोल्पा जिल्लालाई समेटर गुरिल्ला पदमार्ग निर्माण गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले १० वर्षे माओवादी जनयुद्ध प्रभावित क्षेत्रलाई समेटेर गुरिल्ला पदमार्ग निर्माण गरिएको हो । सरकार र तत्कालीन माओवादी द्वन्द्वका कारण प्रख्यात बनेका रुकुम, रोल्पा, म्याग्दी बागलुङलगायत जिल्लाका ग्रामीण बस्तीलाई लक्षित गरी नेपाल पर्यटन बोर्ड, प्रकृति संरक्षण कोष र जिल्ला समन्वय समिति रुकुमको पहलमा गुरिल्ला पदमार्ग नामसहित नयाँ रूट तयार गरेपछि द्वन्द्वग्रस्त क्षेत्रमा पर्यटकको आगमन बढेको छ ।
द्वन्द्वबाट प्रभावित क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकास्न र विदेशी पर्यटनलाई युद्धकालीन दिनचर्या, विकट बस्तीको जनजीवन र मगर संस्कृतिको अनुभव दिलाउन गुरिल्ला पदमार्ग नामक नयाँ रूट तयार गरिएको जिल्ला पर्यटन बोर्ड अध्यक्ष तथा स्थानीय समन्वय अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए । ‘द्वन्द्वकालमा गुरिल्ला हिँड्ने बाटोमा पर्यटकको चहलपहल बढेको छ,’ उनले भने, ‘गुरिल्ला पदमार्गमा म्यादीको पश्चिम व्यापारिक केन्द्र दरवाङ, ताकम, धारापानी, मुना हुँदै बागलुङ सिमाना ढोरपाटन शिकार आरक्षणबाट रुकुमको तकसेरा, सिस्नेहिमाल, चुनवाङ हुँदै रोल्पाको सुलिचौरसम्म रहेको छ ।’ पदमार्गमा अधिकांश मगर बस्ती रहेका छन् । मगर र अन्य समुदायको संस्कृति, प्राकृतिक सम्पदा, हिमशृङ्खला, ग्रामीण जीवन शैली, स्थानीयवासीको द्वन्द्वकालको अनुभव पदमार्गको मुख्य आकर्षण रहेको छ । रूटका अधिकांश क्षेत्र तत्कालीन माओवादीको सेल्टर मानिन्छ ।
गुरिल्ला पद मार्गको स्थापना भए पनि द्वन्द्वपीडित जनताले आफ्नो दिनचर्या विदेशी तथा स्वदेशी पाहुनासँग साट्न पाउने भएका हुन् । २७, १९ र १४ दिनका तीनओटा प्याकेजमा यो पदमार्गको भ्रमण गर्न सकिन्छ । ग्रामीण पर्यटनको सम्भावना भएको यो पदमार्गको प्रचार–प्रसारको लागि नक्सा र गाइड बूकसमेत तयार गरिएको छ ।