कर्णाली प्रदेश : विपद् न्यूनीकरणका लागि उद्धार टोली तयार
Jul 15, 2018
 
प्रदेश समाचार
सुर्खेत । कर्णाली प्रदेश सरकारले सम्भावित प्राकृतिक विपद्को न्यूनीकरण गर्न मातहतका निकायलाई तयारी अवस्थामा राखेको छ । प्रदेशका १० ओटै जिल्लामा हुन सक्ने प्राकृतिक प्रकोपका घटनामा तत्काल ‘रेस्क्यू’ गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले उद्धार टोली तयारी अवस्थामा राखेकोे हो ।
विपत्तिको सामना गर्न प्रदेशभित्रका दशओटै जिल्ला प्रशासन कार्यालय र ७९ ओटा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन भनिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशवराज आचार्यले जानकारी दिए । आचार्यका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयले मातहतका जिल्ला प्रहरी कार्यालयबाट वर्षात्को नियमित तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
वर्षात् शुरू भएकाले खोला, सडक र पहिरोको जोखीममा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन समन्वयकारी भूमिका निर्वाह गरिरहेको उनले बताए । ‘उद्धार र राहत सामग्री पुर्याउन केन्द्र सरकारले नेपाली सेनाको हेलिकोप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको छ,’ उनले भने, ‘प्रदेशमा तत्काल प्राकृतिक विपत्तिका घटना भए उद्धारमा खटिन सेनाका झण्डै २ सय, नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका १ सय ५० जनाको छुट्टै टोली तयारी अवस्थामा छ ।’
प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी कार्यकारी संयोजक रहेको समिति पनि छ । ‘सुरक्षाका ३ ओटै निकायसँगै उद्धार र राहतमा खटिन रेडक्रश र स्वयम्सेवक दस्ताहरू जिल्ला–जिल्लामा तयारी अवस्थामा छन्,’ सचिव आचार्यले भने, ‘विपत्तिमा सजगता अपनाउन प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले संयुक्त रणनीति बनाइएको छ ।’ प्रदेशका १० ओटै जिल्ला प्रहरी कार्यालयबाट दैनिक मौसमी अवस्थाको जानकारी सङ्कलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए ।
उद्धारका लागि प्रहरीको प्रदेश कार्यालय, गण र तालीम केन्द्रमा प्रहरीको रिजर्व टोली तयारी अवस्थामा राखिएको ओलीको भनाइ छ । ओलीका अनुसार प्रत्येक जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा पनि २५ जनाको उद्धार टोली तयार गरेर घटना भएमा खटिन निर्देशन दिइएको छ । केन्द्र सरकारले कर्णाली प्रदेश सरकारलाई तत्काल उद्धार स्थलका लागि सय थान त्रिपाल पठाएको छ । आवश्यक थप राहत सामग्रीको जोहो जिल्ला प्रशासन र नेपाल रेडक्रश सोसाइटीले गरिसकेको आचार्यले जानकारी दिए । प्रदेशको राजधानी, जिल्ला र स्थानीय तहसम्म जोड्ने सडकहरू अवरुद्ध भएमा तत्काल सञ्चालन गर्न आवश्यक सामग्रीसहित सतर्कता अपनाइएको आचार्यको भनाइ छ ।