रौतहट । रौतहटको बौधीमाई नगरपालिकाको लालबकैया नदीको धार परिवर्तन गरिएको छ । बाढीले गाउँ नै बगाउने खतरा बढेपछि करीब दुई साताको प्रयासले खोलाको धार नै परिवर्तन गरिएको हो ।
जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालयले स्पर निर्माण सम्पन्न गरी धार नै परिवर्तन गरिदिएको छ । २ हप्ताअघि बकैया नदीमा आएको बाढीले तटबन्ध कटान गरेपछि इनर्वा गाउँ नै डुबानमा पर्ने खतरा रहेको थियो । पूरै गाउँ नै डुबानमा पर्ने खतरा भएपछि जिल्ला प्रशासन कार्यालय रौतहटको पहलमा स्पर निर्माण भएको हो ।
जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण डिभिजन कार्यालय परवानीपुरका प्राविधिक, नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा स्परहरू निर्माण गर्नुका साथै नदीका धारलाई अर्को दिशातर्फ फर्काइएको थियोे । डिभिजन कार्यालयका प्रमुख डिभिजन इञ्जिनीयर राजकुमार श्रीवास्तवले बकैया नदीको तीव्र कटानका कारण स्परहरू निर्माण गर्न निकै चुनौतीपूर्ण भएको बताए ।
करीब १५ दिनको अवधिमा करीब १३ ओटा स्पर निर्माण गरी नदीको धार परिवर्तन गर्न सफल भएको उनले बताए । आपतकालीन अवस्थामा सीमित स्रोतसाधनको उपयोग गरेर कार्य गर्न निकै चुनौती रहेको उनको भनाइ छ ।
बाढी तथा कटानको समस्या रोक्न बाँधलाई सुरक्षित साथ संरक्षण गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए । देशका विभिन्न स्थानमा भारी वर्षापछि आएको बाढी, पहिरो तथा डुबानले क्षति पुर्याइरहेको बेला जिल्ला प्रशासन कार्यालय रौतहटले बाढी र वर्षाबाट उच्च सतर्क रहन जिल्लावासीलाई आग्रह गरेको छ ।