ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पाँच कम्पनीको प्रस्तावित लाभांश पारित हुन बाँकी

Jul 22, 2018  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी
आर्थिक वर्ष २०७४/७५ समाप्त भइसक्दा समेत कतिपय कम्पनीले अघिल्लो आवको लाभांश प्रस्ताव पारित गर्न बाँकी छ । कम्पनीहरूले सार्वजनिक गरेको सूचनालाई आधार मान्दा हालसम्म लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका पाँच कम्पनीले साधारणसभामा सो प्रस्ताव पेश गरेर पारित गर्नै बाँकी छ । कम्पनीहरूले सञ्चालक समितिको बैठकमार्फत निर्णय गरे पनि नेपाल राष्ट्र बैङ्कको स्वीकृतिपछि वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र घोषित लाभांश वितरणयोग्य हुन्छ । लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका सिभिल बैङ्क, एनएमबी बैङ्क, सेण्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स र राष्ट्रिय बीमा कम्पनीले अझै पनि आव २०७३/७४ को साधारणसभा गर्न सकेका छैनन् । यी पाँचओटै कम्पनीले चुक्तापूँजी वृद्धि गर्नुपर्ने अवस्था छ । राष्ट्र बैङ्कको निर्देशनमा बैङ्क तथा वित्तीय संस्था र बीमा समितिको निर्देशनमा बीमा कम्पनीले पूँजीवृद्धि बढाउनुपर्ने अवस्था आएको हो । बीमा समितिले गत आर्थिक वर्षको अन्त्यसम्म निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब र जीवन बीमा कम्पनीलाई रू. २ अर्ब चुक्तापूँजी पु¥याउन निर्देशन दिएको छ । सो निर्देशनअनुसार राष्ट्रिय बीमा कम्पनीले रू. १ अर्ब चुक्तापूँजी पु¥याउनुपर्नेछ । त्यस्तै, वाणिज्य बैङ्कले रू. ८ अर्ब र वित्त कम्पनीले रू. ८० करोड पुर्‍याउनुपर्नेछ । चुक्तापूँजी वृद्धिकै लागि यी कम्पनीले बोनस लाभांशको रूपमा बोनस शेयर दिने प्रस्ताव गरेका हुन् । तोकिएको चुक्तापूँजी पुर्‍याउने प्रयासमा रहेको राष्ट्रिय बीमा कम्पनीले हाल वित्तीय विवरण स्वीकृतिका लागि बीमा समितिमा पेश गरिएको जानकारी दिएको छ । कम्पनीको लाभांश भने आव २०६८/६९ को नाफाबाट वितरण गर्ने तयारी भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले बीमा समितिको स्वीकृति पाउनासाथ साधारणसभा गरिने जानकारी दिए । राष्ट्रिय बीमा कम्पनीले १ सय २० प्रतिशत बोनस शेयर र ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव फागुन १० गते नै गरेको थियो । कम्पनीले हाल कायम रू. २६ करोड ६६ लाख ३९ हजार चुक्तापूँजीको आधारमा लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हालै एफपीओ विक्री गरेर एफपीओका सदस्यलाई समेत बाँड्नेगरी लाभांश प्रस्ताव गरेको एनएमबीले साउनभित्रै साधारणसभा हुने बताएको छ । असार ३१ गते नै राष्ट्र बैङ्कले लाभांश वितरणका लागि स्वीकृति दिएकाले साउनभित्रै पारित गर्ने तयारी बैङ्कले गरेको प्रमुख कार्यकारी अधिकृत सुनील केसीले जानकारी दिए । कम्पनीको हाल रू. ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार चुक्तापूँजी रहेकोमा एफपीओ विक्रीपछि रू. ७ अर्ब ६० करोड ३२ लाख ९० हजार पुगेको छ । प्रस्तावित बोनस पारित गरी वितरण भएपछि बैङ्कको चुक्तापूँजी रू. ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार पुग्नेछ । सिभिल बैङ्कले असार ५ गते नै लाभांश वितरणका लागि राष्ट्र बैङ्कको स्वीकृति पाए पनि हालसम्म साधारणसभाको मिति सार्वजनिक गरेको छैन् । यस विषयमा सञ्चालक समितिले निर्णय गर्न बाँकी रहेकाले जतिसक्दो छिटो निर्णय गर्ने तयारी रहेको बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । सिभिलले ४० प्रतिशत हकप्रदपछि कायम रू. ७ अर्ब २५ करोड ९३ लाख १० हजार चुक्तापूँजीको १० दशमलव २५ प्रतिशत बोनस दिन लागेको हो । बोनस वितरणपछि कम्पनीको चुक्तापूँजी ८ अर्ब ३३ लाख ८९ हजार पुग्नेछ । सेण्ट्रल फाइनान्सले पनि जतिसक्दो चाँडो साधारणसभा बोलाउने तयारी गरेको छ । राष्ट्र बैङ्कले असार १४ गते नै लाभांश वितरणका लागि स्वीकृति दिए पनि यसअघि जारी हकप्रद शेयर सबै विक्री हुन नसकेकाले विक्री हुन बाँकी त्यस्तो शेयर लीलामीपछि साधारणसभा गरिने कम्पनीका सचिव अशोक पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्र बैङ्कले तोकेबमोजिम चुक्तापूँजी पुगिसकेको छ । शेयर लीलाम गर्न बाँकी रहे पनि अहिलेसम्म कम्पनीको चुक्तापूँजी रू. ८० करोड १७ लाख पुगिसकेकोे छ । कम्पनीले ८ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । रिलायन्स फाइनान्सले पनि लाभांश वितरणका लागि राष्ट्र बैङ्कको स्वीकृति पाइसकेको छ । यो कम्पनीले ४५ प्रतिशत हकप्रद भर्ने सदस्यहरूले समेत पाउनेगरी १२ प्रतिशत बोनस र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको संस्थापकतर्फको हकप्रद शेयर पूर्ण विक्री हुन सकेको छैन । अवितरित हकप्रद साउन ८ देखि १६ गतेसम्म विक्रीका लागि उसले निवेदन आह्वान गरेको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)